बझाङ। बझाङको थलारा गाउँपालिकाको स्वास्थ्य शाखामा आगलागी भएको छ। विद्युत् सर्ट भई आगलागी हुँदा औषधि, स्वास्थ्य उपकरण र विद्युतीय उपकरण जलेर नष्ट भएको छ भने भवन पनि जलेर ध्वस्त भएको छ।
बिहीबार बिहान साढे ११ बजेतिर स्वास्थ्य शाखाको स्टोरमा विद्युत् सर्ट भइ आगो लागेको शाखा प्रमुख समेत रहेका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम ओलीले बताए । निमित्त प्रमुख प्रशासकीय अधिकृत ओलीका अनुसार आगलागीबाट स्वास्थ्य शाखाको स्टोरमा भण्डारण गरिएको औषधि, स्वास्थ्य चौकीलाई वितरण गर्न ल्याइएका ५ थान ल्यापटप, प्रिन्टर, डेस्कटप कम्प्युटर जलेका छन्।
यस्तै अक्सिजन कन्सन्ट्रेटरलगायत सर्जिकल उपकरणहरु पनि जलेको र ३० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको उनले बताए। ‘कोठा बन्द गरेर हामी खाना खान गएका थियौं । खाना खाएर फर्किँदा त पुरै घर जलेर आगो बाहिर आइसकेको रहेछ,’ ओलीले भने ‘पालिकाभरीका स्वास्थ्य संस्थालाई बाँड्न ठिक्क पारेको औषधि र उपकरणहरु केही बाँकी रहेन।’ स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो।
आगलागीबाट स्वास्थ्य शाखा भवनसँगै रहेको कर्मचारी आवासमा पनि क्षति पुर्याएको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । उपाध्यायका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम ओली, सब ओभरसिर चक्रबहादुर थापा र खानेपानी तथा सरसफाई सहजकर्ता भोजराज पाण्डे बस्ने ३ कोठामा रहेका ओढ्ने ओछ्याउने, लगाउने कपडालगायतका सामान जलेर नस्ट भएका छन्। गाउँपालिकाले स्थानीयको घर भाडामा लिएर स्वास्थ्य शाखा सञ्चाललन गरिरहेको थियो । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।