धनगढी। कैलालीका १३ वटै पालिकाहरुमा नेपाली काँग्रेसको अधिवेशन सम्पन्न भएको छ । १४ औँ अधिवेशन अन्र्तगत वडा तहको अधिवेशन सम्पन्न भएसंगै कार्तिक ३० गतेदेखि काँग्रेसको गाउँ तथा नगरअधिवेशन सुरु भएको थियो ।
जिल्लाका केही पालिकामा सर्वसम्मत र केहीमा निर्वाचन मार्फत नयाँ नेतृत्व चयन भएको नेपाली काँग्रेस कैलाली प्रचार–प्रसार समितिले जनाएको छ। सुदरपश्चिम प्रदेशको एक मात्र उप महानगरपालिका धनगढी उपमहानगरपालिकाको नगर सभापति सर्वसम्मत चयन भएका छन्। नेपाली काँग्रेस कैलाली प्रचार-प्रसार समिति संयोजक नृप सुनारका अनुसार धनगढीको नगर सभापतिमा यज्ञराज उपाध्याय सर्वसम्मत चयन भएका छन् ।
यस्तै गोदावरी नगरपालिकाको सभापतिमा बिर बहादुर चोखाल, गौरीगंगा नगरपालिकाको सभापतिमा पहल बिक्रम चन्द ,घोडाघोडी नगरपालिकाको सभापतिमा बम बहादुर सिंह, लम्कीचुहा नगरपालिकाको सभापतिमा इन्द्र बहादुर कुवर, टिकापुर नगरपालिका सभापतीमा नरेश खत्री, भजनी नगरपालिका सभापती नवराज मिश्र निर्वाचित भएका छन् ।
यस्तै जानकी गाउँपालिका सभापतिमा गणेशराज रेग्मी, कैलाली गाउँपालिका सभापतिमा कृष्णप्रसाद चौधरी, बर्दगोरिया गाउँपालिका सभापतिमा कृष्ण विष्ट र मोहन्याल गाउँपालिका सभापतिमा कमलबहादुर साउद, जोशिपुर गाउपालिका सभापतीमा बसिराम चौधरी चुरे गाउँपालिका सभापतिमा हेम शाह चयन भएका छन्। पालिका अधिवेशन सकिएसंगै अब क्षेत्रिय अधिबेशन हुने छ। यही मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्र, मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशनका हुने जनाइएको छ ।