धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण बहादुर थापाले पार्टी विभाजनका बेला भीम रावल पक्षले एकलौटी रुपमा कब्जा गरेको नगद तथा अन्य भौतिक सम्पत्ति पनि फिर्ता हुने बताएका छन् ।
तत्कालिन अवस्थामा सम्पति कब्जा गर्ने समुह एकिकृत समाजवादीमा लागिसकेको बताउँदै उनले एकीकृत समाजवादी पार्टीले फिर्ता गर्ने प्रतिबद्धता गरेको बताएका हुन् ।
बुधबार प्रेस चौतारी कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा थापाले कब्जा गरिएको ३४ लाख फिर्ता आउने बताएका हुन् । ‘हाम्रो पार्टीको खातामा रहेको ३७ लाखमध्ये तीन लाखबाहेक सबै रकम कब्जा गरेर लगिएको थियो। अहिले उहाँहरुले हामी फिर्ता गर्छौं भन्नुुभएको छ’ उनले भने। अध्यक्ष थापाले तत्काल २४ लाख र अन्य रकम पछि दिने कुरा भएको जानकारी दिए।
साथै उनले सुदूरपश्चिमका ९ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि पनि चयन गरिसकेको जानकारी दिए। ९ जिल्लाबाट एक सय ६४ जना महाधिवेशन प्रतिनिधि छनोट भएको उनले बातए। तर प्रमाणीकरण गर्न बाँकी भएकाले नामावली अहिले नै सार्वजनिक गर्न नमिल्ने अध्यक्ष थापाले बताए।