धनगढी। सोमबार धनगढीमा बिरोध प्रदर्शन तथा राँके जुलुस गरिएको छ । नेत्र विक्रम चन्द विप्लवले कार्तिक ३० गते (भोली) गर्ने नेपाल बन्दको पुर्वसन्ध्यामा बिरोध प्रदर्शन तथा राँके जुलुस निकालिएको हो । धनगढीको क्याम्पस चोक बाट निकालेको विरोध -याली पार्क मोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धिको विरोधमा कार्तिक ३० गते नेपाल बन्द गर्ने घोषणा गरिसकेको छ। सोही अनुरुप सोमबार धनगढीमा बिरोध प्रदर्शन तथा राँके जुलुस गरिएको हो । सरकारले हालै महिना दिनभित्रै ९ पटकसम्म पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ।
डिजेल, पेट्रोल, हवाई इन्धन, ग्याँस सिलिन्डर तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुमा भएको चर्को मूल्यवृद्धिले आम सर्वसाधारण किसान, श्रमिक, मजदुर मात्र नभई विद्यार्थी, शिक्षक–बुद्धिजीवी, कर्मचारीलगायत मध्यम वर्ग र व्यवसायीहरूको समेत ढाड भाँच्ने निश्चित रहेको जनाएको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इन्चार्ज प्रज्वलनले विभिन्न पेसाकर्मी, उद्योगी, व्यवसायी, शैक्षिक सङ्घसंस्थालगायत सम्बन्धित क्षेत्रका सम्पूर्ण पक्षलाई बन्द सफल पार्न आह्वान गर्दै जारी गरेको पत्रमा भनिएको छ ।
दिनप्रतिदिन भईरहेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोध गर्दै विप्लवले साँकेतिक रुपमा नेपाल बन्दको घोषणा गरेको जिल्ला सचिव दिपेन्द्र चलाउनेले बताए । ‘पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धीको भार नेपाली जनताले थेग्न सक्दैनन्’, उनले भने, ‘देउवा सरकारले नेपाली जनताको आहारा खोसेको छ ।’ त्यस्तै नेपाल आयल निगमले नागरिकलाई मर्कापर्ने गरी मुल्यवृद्धी गरेको भन्दै नेपाल बन्दमार्फत सांकेतिक चेतावनि दिएको चलाउनेले जानकारी दिए।पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्धको आन्दोलन हाम्रो पार्टीको मात्र नभई आमजनसमुदाय र व्यवसायीहरूको समेत साझा सरोकारको विषय हो । नेपाल बन्द हाम्रो रहर नभई बाध्यता भएको विप्लव समुहले जनाएको छ ।