धनगढी : बिहेबारी २० बर्ष पारी भन्ने नाराका साथ बालविवाह बिरुद्ध सरोकारवालाहरुसंग २ दिने प्रदेश स्तरिय गोष्ठी धनगढीमा शुरु भएको छ । बाल विवाह रोक्न सरकारी तथा बिभिन्न गैर सरकारी निकायहरुले बिभिन्न चरणमा ठुलो लगानी लगाइसकेपनि हालसम्म यसको अन्त हुनुको सट्टा झन बढिरहेको भन्दै यसका बिरुद्ध गोष्ठी शुरु भएको हो । दलित महिला अधिकार मञ्च, महिला बिकास मञ्च लगायतका संस्थाहरुको आयोजनामा शुरु भएको गोष्ठीका सहभागीले सरकारको लगानी खेर गएको प्रतिक्रिया दिएका छन् ।
सरकारले जिम्मा लिएर बालविवाह बिरुद्ध सक्रियता देखाउनुपर्ने भएपनि बनाएका कानुनकै कार्यान्वयन नभएको भन्दै सहभागीहरुले दुख ब्यक्त गरेका हुन् । कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादी पार्टी सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गा बिकले बालविवाहले पछि गएर महिलाको स्वास्थ्यमा जटिल समस्या देखिनुका साथै सम्बन्धमै दरार आउन सक्ने भएकाले उमेर पुगेपछि मात्रै बिबाह गर्न आग्रह गरिन् । अहिले आमा बुवाको सहमतीमा भन्दापनि आफै बालविवाह गर्ने परिपाटी बढेको भन्दै उनले यसको न्युनिकरणका लागी सबैको भुमिका उत्तिकै हुनुपर्ने बताइन् ।
सुदूरपश्चिम प्रदेशसभा सामाजिक बिकास बिकास समितिकी सभापति कुन्ती जोशीले बालविवाह आफैलेपनि धेरै रोकेको बताइन् । बालविवाह रोक्न अभियानपनि चलेका छन् उनले भनिन् ‘सरकारकोपनि लगानी छ संघ संस्थाकोपनि लगानी छ तर हामी कहाँ चुकिरहेका छौँ त, एउटा सरकारलाई दोष दिएर सबै पुग्ने होइन हामी आफैबाट कमजोरी खोजौँ र बालविवाह अन्त्यका लागी सक्रियताका साथ अभियान चलाऔँ ।’
प्रदेश मामिला तथा बिधायन समितिका सभापति नेपालु चौधरीले समाजमा ब्यप्त यस्ता कुरिति अन्त्य गर्नुपर्नेमा जोड दिए । राज्य, संघ संस्था, सामाजिक अगुवा आम नागरिक सबैको सहकार्यबाट मात्रै बालविवाह अन्त्य गर्न सकिने भन्दै उनले सबैको सहकार्य आवश्यक रहेको बताए ।
बालविवाह अन्त्य गर्न कानुनको कमी नभएको प्रदेशका सभामुख अर्जुन बहादूर थापाले बताए । कानुन पर्याप्त बनेका छन् उनले भने ‘संघ सरकारलेनै धेरै कानुन बनाएका थिए प्रदेशलेपनि अहिले कानुन बनाएको छ हामीसंग कानुन त छन् तर कार्यान्वयन फितलो भएकै हो ।’
यो कार्यान्वयनका लागी सरकार मात्रै चुकेको होइन नी उनले भने ‘समाजको कुरिति कुसंस्कार रोक्ने दायित्व सरकारको मात्रै त होइन होला नी, समाजमा राजनिति गर्ने अगुवा, शिक्षक, बिद्यार्थी नेता देखी लिएर निकै भलादमी मानिसको बसोबास छ अनी यी भलादमी, अगुवाहरुले कुरिति हटाउन पहल नगरे कोले गर्छ त ।’
यसमा धेरै बजेटको आवश्यक्ता छैन् उनले भने ‘संघ संस्थाहरुलेपनि सरकारलाइमात्रै दोष लगाएर हुँदैन सबैले आ आफ्नो जिम्मेवारी पालना गरे बालविवाह अन्त्य हुन्छ ।’ दलित महिला अधिकार मञ्च नेपालकी अध्यक्ष साबित्रा घिमिरेको अध्यक्षमा भएको कार्यक्रममा सुदूरपश्चिमका ४ जिल्लाबाट सहभागी छन् ।