धनगढी। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नेपाली काँग्रेस कैलालीका १२६ वडा मध्ये १२५ वडामा वडा अधिवेशन सम्पन्न भएको छ।
प्रचार प्रसार संयोजक नृप सुनारका अनुसार जिल्लामा रहेको १२६ वडामध्ये एउटा वडाबाहेक अरू सबैमा अधिवेशन गरी वडा कमिटीका पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन गरिएको छ। गोदावरी नगरपालिका–६ मा भने अधिवेशन स्थगित भएको प्रचार प्रसार संयोजक नृप सुनारले जानकारी दिए।
यद्यपि त्यहाँ पनि चुनाव भने सम्पन्न भएको छ। उनका अनुसार ९५ वटा वडामा सर्वसम्मतले पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन गरिएको छ । ३० वटा वडामा भने निर्वाचन भएको छ। अधिवेशन भएका १२५ वटै वडाको नतिजा आइसकेको जनाइएको छ। अधिवेशनबाट उपमहानगरपालिकाको प्रत्येक वडा कमिटीमा ३२/३२ जना निर्वाचित भएका छन् ।
१९ वडा रहेको धनगढी उपमहानगरपालिकामा वडा कमिटी मात्रै ६०८ जना निर्वाचित भएको जनाइएको छ। यसैगरी नगरपालिकाको प्रत्येक वडामा २७ र गाउँपालिकाको हरेक वडामा २२ जनाका दरले वडा कमिटीमा निर्वाचित भएका छन्। क्षेत्रीय प्रतिनिधि भने प्रत्येक वडामा १७ देखि बढीमा ७९ जनाका दरले निर्वाचित भएका सुनारले जानकारी दिए। उनले दुई हजार ५०० जना क्षेत्रीय प्रतिनिधि रहने जनाए। साथै उनले ८० प्रतिशत भन्दा बढी नेतृत्व सर्वसम्मत रुसमा चयन भएको बताउँदै यसले आगामी ३० गते हुने नगर तथा पालिका, मसिंर ३ गते हुने प्रदेश, ६ गते सङ्घीय र १० गते हुने जिल्ला अधिवेशनमा पनि सर्वसम्मत नेतृत्व चयन गर्न दबाब सिर्जना भएको बताए ।