बझाङ। कात्तिक पहिलो साता खप्तडछान्ना गाउँपालिका–१, मसुराडी गाउँकी काली कामीको घर पहिरोले बगायो । चार बालबच्चासहित आफ्नो ज्यान जोगाउन सफल उनी अहिले छिमेकीको चर्केको घरमा बसिरहेकी छन् । आफन्तले दिएको लुगा र खाद्यान्नको भरमा उनलाई बिहान–बेलुका हातमुख जोर्ने चिन्ता त छँदै थियो । त्यसैमाथि पानी कहाँबाट ल्याउने भन्ने पिरलो थपिएको छ ।
गाउँको चारैतिर पहिरो खसेर मसुराडी गाउँको खानेपानी आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भयो । त्यसयता यहाँका २२ परिवार मुक्त हलिया भारी वर्षापछि पहिरो नजिकै निस्किएको भलको पानी पिउँदै आएका थिए । ‘अब भलको पानी सुकिसक्यो । नजिकै अर्को मुहान कतै छैन,’ कामीले भनिन्, ‘भएभरको घर र सम्पत्ति त पहिरोमा परेकै थियो । अब पानी खान पनि नपाइने भयो ।’
भलको पानी सुकेपछि यो गाउँका बासिन्दा २ किलोमिटर टाढा रहेको खोलाको धमिलो पानी खाइरहेको उनले बताइन् । खप्तडछान्ना–४, डिम्मरतोला गाउँको अवस्था पनि यस्तै छ । बेमौसमी वर्षापछि आएको बाढीले खानेपानी योजनाका सबै संरचना बगाएपछि पाँच किलोमिटर टाढा पुगेर पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय अर्जुन थापाले बताए । ‘अहिले गाउँभरिका सबैको काम नै पानी बोक्ने भएको छ,’ उनले भने, ‘एक गाग्री पानी ल्याउन दिनभरजसो लाग्छ । अरू काम छोडेर भए पनि पानी त खानैपर्यो ।’
जयपृथ्वी नगरपालिका–१, पिमी गाउँमा पनि कात्तिकअघि पानीको दुःख थिएन । भर्खरै करिब १ करोड लगानीमा निर्मित भेरा खानेपानी योजनाका धाराबाट चौबिसै घण्टा पानी आउँथ्यो । केही परिवारले पहिला नै निर्माण भएको गौडा खानेपानी योजनाका धाराबाट पानी खान्थे । कात्तिकमा आएको पहिराले भेरा खानेपानी योजनाको मुहान नै बगाइदियो । गौंडा खाने पानी योजनाको पाइप दर्जनौं ठाउँमा पहिरोले बगाएपछि दुवै योजना बन्द भए । यो गाउँका करिब २ सय परिवार अहिले वर्षात्पछि आएको भलको पानी खान बाध्य छन् ।
प्रदूषित पानीको प्रयोग गरेका कारण कात्तिक पहिलो सातादेखि नै यो गाउँमा पानीजन्य संक्रमण फैलिन थालेको स्वास्थ्यकर्मीहरूले बताए । ‘खानेपानी बन्द भएपछि पानीजन्य संक्रमणका बिरामी चार–पाँच गुणा बढेका छन् । रुघाखोकी, झाडापखाला, आउँ र टाइफाइडका बिरामी पहिला दिनमा एक दुई जना मात्रै आउँथे । अहिले दिनमै ४०/५० जना आउने गरेका छन्,’ कैलाश स्वास्थ्य चौकीका अहेव धीरेन्द्र खड्काले भने, ‘फोहोर पानी खाएकै कारण रोग फैलिएको हो ।’ बिरामीको संख्या बढेसँगै स्वास्थ्य चौकीमा औषधि अभाव हुन थालेको उनले बताए ।
अहिले बझाङको साइपाल गाउँपालिकाबाहेक अरू ११ पालिकाका अधिकांश गाउँमा खानेपानीको संकट छ । अधिकांश गाउँका बासिन्दाले वर्षापछि निस्केको भलको पानी खाइरहेको भए पनि भल सुकेपछि खानेपानीको जिल्लाभरि नै हाहाकार भएको छ । खप्तड छान्ना गाउँपालिकामा मात्रै ६६ वटा खानेपानी योजनामा क्षति भएको पालिकाका सूचना अधिकारी ऐनबहादुर रोकायाले बताए । पालिकाभर खानेपानी योजना क्षतविक्षत हुँदा करिब २ हजार ४ सय परिवारका १ हजारभन्दा बढी स्थानीय स्वच्छ खानेपानीबाट वञ्चित भएको उनले बताए ।
कुनै खानेपानी योजनाको मुहान नै पहिरोले बगाएर लगेको छ भने कुनैको मुहान खोलाले बगाएको छ । कतिपयको मुहान नै कहाँनिर थियो भनेर थाहै नहुने अवस्था भएको थलारा गाउँपालिका ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जलस्रोत अधिकृत छत्र जोशीले बताए । ‘कुनै योजनाको ट्यांकी छैनन् । पालिकाको खानेपानी सञ्जाल पूरै ध्वस्त भयो भन्दा हुन्छ,’ उनले भने । थलारा गाउँपालिकामा ५० भन्दा बढी खानेपानी आयोजना बाढीपहिरोले क्षतिग्रस्त हुँदा २ हजार ५ सयभन्दा बढी परिवार भल, कुलो, खोलाको पानी खाइरहेका छन् । ‘कतिपय गाउँमा त परम्परादेखि नै पानी खाइरहेका कुवा र धाराहरूको पनि नामोनिसान छैन,’ उनले भने ।
बेमौसमी वर्षासँगै आएको बाढी र पहिरोले खानेपानीका मुहान, इन्टेक, रिजर्भ्वायर ट्यांकी, पाइपलाइन, धारा क्षतिग्रस्त भएपछि जयपृथ्वी र बुङ्गल नगरपालिका, खप्तडछान्ना, बित्थडचिर, केदारस्युँ, थलारा, छबिस पाथीभेरा, दुर्गाथली, सुर्मा, तल्कोट र मस्टा गाउँपालिकाका दर्जनौं गाउँमा खानेपानीको संकट सुरु भएको हो । ‘गाउँको खानेपानी पहिरो बगाएपछि तीन घण्टा टाढाको खोलाबाट पानी बोकेर खाइरहेका छौं,’ थलारा गाउँपालिका–२ ऐनवाडाकी धनादेवी कुँवरले भनिन्, ‘गाउँको कुवा पनि पहिरोले पुरेपछि बिजोग भएको छ । खानेपानीको यस्तो संकट त कहिल्यै भएको थिएन ।’
कतिपय खानेपानी आयोजना मर्मतपछि सञ्चालन गर्न सकिने भए पनि धेरैजसोको मुहान नै बगेकाले पुनर्निर्माण गर्नसमेत समस्या भइरहेको पालिकाहरूले जनाएका छन् । ‘कुनै–कुनै गाउँमा पाइप मात्रै बगाएको छ । त्यहाँ हामीले नयाँ पाइप दिएर मर्मत गर्न लगाएका छौं,’ खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष बर्क रोकायाले भने, ‘मुहानै बाँकी नरहेको ठाउँमा कसरी पानी ल्याउने भन्ने चिन्ता बढेको छ ।’ खानेपानीका संरचना क्षतिग्रस्त हुँदा महिलालाई निकै दुःख भएको केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा ठगुन्नाले बताइन् । ‘महिलाहरूले राति सुत्न पाएका छैनन् । आधा रातमा उठेर पानी भर्न दौडादौड गर्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘सम्भव भएका ठाउँमा पहिरोले च्याप्पेका पाइप निकालेर भए पनि पानी चलाउने प्रयास भइरहेको छ । धेरैजसो गाउँमा त्यो पनि सम्भव छैन ।’
विपत्का कारण जिल्लाभरि शुद्ध पिउने पानीको अभाव भएकाले पानीजन्य संक्रमण फैलिने जोखिम छ । जिल्ला अस्पताल बझाङका डा। देवेन्द्र कठायतले पानीजन्य संक्रमण बढ्न नदिन प्रदूषित पानी प्रयोग गरिरहेका बासिन्दालाई तत्काल सरकारले पानी शुद्धीकरण गर्ने औषधि वितरण गर्नुपर्ने बताए । ‘त्यो हुन सकेन भने पानी उमालेर खान सक्यो भने मात्रै पनि संक्रमण निकै कम हुन्छ । सोझै प्रदूषित पानी पिउँदा संक्रमण फैलिने खतरा छ,’ उनले भने ।
बाढीपहिरोले खानेपानीका संरचनामा क्षति पुर्याउँदा जिल्लामा २० हजारभन्दा बढी घरधुरीमा खानेपानीको संकट देखिएको प्रारम्भिक अनुमान भए पनि यकिन तथ्यांक आउन सकेको छैन । ‘१२/१३ वटा निवेदन आएका छन् भन्ने सुनेको छु । बाँकी विवरण आउँदै छ,’ खानेपानी व्यवस्थापनको जिम्मा लिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेलधुराअन्तर्गतको फिल्ड कार्यालय बझाङका प्रमुख भक्तबहादुर खड्काले भने, ‘सबै जानकारी विपद् व्यवस्थापन समितिमा हुन सक्छ ।’ उनले खानेपानीमा भएको क्षतिको विवरण राख्नुपर्ने जिम्मेवारी आफ्नो कार्यालयको भए पनि सबैतिरबाट नआएकाले राख्न नसकिएको बताए ।
यता, विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले लापरबाही गरेका कारण क्षतिको विवरण आउन नसकेको बताए । ‘पालिकाहरूसँग बुझ्दा २० हजारभन्दा बढी परिवार समस्यामा परेको प्रारम्भिक जानकारी आएको छ । यसको डाटा ल्याउने खानेपानीको अफिसले कामै गरेको छैन ।’ बझाङको खानेपानी व्यवस्थापन हेर्ने मुख्य कार्यालय डडेलधुरामा रहेका कारण पनि यस्तो समस्या भएको प्रजिअ अधिकारीको भनाइ छ । खानेपानीको चरम समस्या भएका गाउँ पत्ता लगाएर समाधान गर्न पालिकादेखि प्रदेश र संघ सरकारले तत्काल पहल गर्नु जरुरी भएको उनले बताए ।