काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप भएको छ । झडपकका क्रममा बार महासचिव लिलामणि पौडेलसहित ६ वकिल घाइते भएका छन् ।
महासचिव पौडेलसहित पूर्वउपध्यक्ष कुमार शर्मा आचार्य, बार केन्द्रीय सदस्य प्रकाश महर्जन, पूर्वकेन्द्रीय सदस्य रमनकुमार कर्ण, उच्च अदालत पाटन बार सदस्य मुकुन्द भट्टराई र रक्षा बस्याल सामान्य घाइते भएको नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए।
प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सर्वोच्च अदालतकै १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिस्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ । अहिले सर्वोच्च परिसरमा वकिलहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन्। मूल ढोकामा विरोध प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि अदालत परिसरमा अहिले वकिल र प्रहरीबीच घम्साघम्सी भइरहेको छ । भिड नियन्त्रणका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सशस्त्र प्रहरी बलको टोली पनि परिचालन गर्न आदेश दिएका छन् ।