काठमाडौं। नेकपा एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी उपाध्यक्ष डा.भीम रावलको जेठ २ को बुझाइमै समस्या रहेको बताएका छन् । आज पत्रकारसँग कुरा गर्दै नेता भट्टले भने, “अहिले एमालेमा देखिएको विवाद भीम रावल र मेरो व्यक्तिगत समस्या होइन, जेठ २ को निरन्तरताबारे उहाँले जे बुझ्नुभयो, मुख्य समस्या त्यही हो।”
सदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन भइसकेको उनले दाबी गरे । उनले थपे, “१० बुँदे सहमति कार्यान्वयन भएन भनेर कसले भन्न सक्छ ? त्यो कार्यान्वयन भएकाले नै हरेक वडादेखि पालिकासम्मको अधिवेशन भए । अब प्रतिनिधि छनोट हुँदै छ । पार्टीको निर्णय मान्ने, नमान्ने उहाँको कुरा हो । जेठ २ को निरन्तरताका कारण त उहाँ पार्टी उपाध्यक्ष हुनुहुन्छ । उहाँसँग फोनमा कुरा हुन्छ, बैठकमा उहाँ आउनुहुन्न । यसमा केही विवाद छ भने केन्द्रले समाधान गर्ला ।” भीम रावलले भने जस्तो कुनै नयाँ सदस्यता वितरण नभएको पनि उनले बताए । उनले भने, “पार्टीमा नयाँ सदस्यता वितरण भएको छैन । पार्टीको नीति अनुरुप नवीकरण मात्र गरेको हो । त्यसमा केही धाँधली भएको भए पनि छानबिन होला । मैले कहिल्यै गुटको राजनीति गरेको छैन । यसबारे मलाई केही थाहा छैन ।”
एमाले नेकपाकै एकताको निरन्तरता भएकाले पूर्वमाओवादीहरुको व्यवस्थापनमा कुनै समस्या नआउने उनको जिकिर छ । उनले थपे, “हामीलाई नेतृत्व र आमकार्यकर्ताले विश्वास गरेका छन् । त्यसकारण हामीले नेतृत्व नपाउने कुनै कारण छैन । हामी एकीकरणसहितको नयाँ एमाले हो भनेर अघि बढेका छौं । आगामी दिनमा कुनै समस्या होला जस्तो लाग्दैन ।” नेता भट्टले एमालेमा पार्टी अध्यक्ष केपी ओलीको विकल्प नदेखेको पनि बताए । उनले भने, “म पार्टी नेतृत्वमा विवाद देख्दिनँ । उहाँको विकल्प पनि देखेको छैन । कसैले उहाँको विकल्प खोजेजस्तो पनि लाग्दैन । नेतृत्व भनेको विचार हो । केही टुटफुट भए पनि नेतृत्वका कारण एमाले कमजोर भएको छैन । सत्ता भनेको कहिले गुम्छ, कहिले आउँछ ।”