बैतडी। राष्ट्रिय जनगणना २०७८ अन्तर्गत यस जिल्लामा पनि यही कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म मूल गणना हुने भएको छ । यसका लागि तयारी पूरा भएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए ।
३ सय १५ गणकलाई तालिम दिएर कात्तिक २५ गतेदेखि काम गर्ने गरी आवश्यक सामग्रीसहित कार्यक्षेत्रमा खटाइसकिएको र उनीहरुसँगै ८० सुपरीपेक्षक पनि सहभागी हुने भएका छन् । उनले भने, “गणकलाई जनगणनाका बेला गर्नुपर्ने कार्यका विषयमा कात्तिक १३ देखि १६ सम्म तालिम दिइएको थियो ।” उनले थपे, “कात्तिक २३ र २४ गते सुपरीपेक्षकले गणकलाई कार्यक्षेत्र देखाउनेछन्, कोही नछुट्ने गरी गणक खटाउनेछौँ ।”
चार दिनको तालिममा गणकहरूलाई मूल गणनाका लागि गर्नुपर्ने कामका बारेमा जानकारी दिइएको र जनगणनालाई प्रभावकारी बनाउन सबै तयारी पूरा भएको जनाइएको छ । छनोट भएका ३ सय १५ गणकमध्ये दशरथचन्द, पाटन, मेलौली र पुर्चौंडी नगरपालिकामा क्रमशः ६५,३६, २७ र ४० जना खटिएका छन् । यस्तै सुर्नयामा २५ जना, दोगडाकेदारमा २८, डिलाशैनीमा २८, सिगासमा २६ जना, शिवनाथ तथा पञ्चेश्वर गाउँपालिकामा २१/२१ गणक खटिएका छन् ।
गणकले प्रश्नावलीसहित घरघरमै गएर परिवारमूलीबाट सूचना सङ्कलन गर्ने बताइएको छ । ८० वटा प्रश्नसहित गणक घरघरमा पुग्ने भएकाले सही सूचना दिन पनि सबैसँग आग्रह गरिएको छ। जनगणनालाई प्रभावकारी बनाउनका लागि जिल्ला जनगणना कार्यालयका साथै जिल्लाका चार ठाउँमा स्थानीय जनगणना कार्यालयसमेत सञ्चालनमा ल्याइएका छन्। भदौ ३० देखि असोज १८ गतेसम्म सञ्चालन भएको राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षक खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो । पहिलो चरणमा ४९ हजार ७ सय ६१ परिवार सूचीकृत भएका छन् ।