आज तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाइएको छ। बत्ती नबलेको घरमा लक्ष्मीको बास हुँदैन भन्ने विश्वास अनुसार घरको चारैतिर सफा सुग्घर गरी बत्ती बालेर लक्ष्मीपूजा गरिन्छ । घरमा अन्न धेरै भित्रियोस् भनेर लक्ष्मीकोपूजा गरिने जनविश्वास छ ।
जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँलक्ष्मीले सदा बास गर्ने भन्दै लक्ष्मीपूजाको महिमा शुरु भएको धार्मिक विश्वास गरिन्छ । यस दिन सम्पूर्ण नेपालीले धनकी देवी लक्ष्मीको पूजा गर्ने परम्परा रहेको छ ।
लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भनिन्छ। घरमा अन्न धेरै भित्रियोस् भनेर लक्ष्मीको पूजा गरिन्छ। घरघरमा लक्ष्मी भित्र्याउन घरको आँगनदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातो माटोले पोतेर लक्ष्मी हिड्ने बाटो तयार गरिन्छ । त्यसमा चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाएर केराको सुतलामा बत्ती बाल्ने गरिन्छ।
लक्ष्मीपूजाको रात घरमा लक्ष्मी प्रवेश गर्छिन् भन्ने धार्मिक मान्यता छ । त्यसैले घरका झ्यालढोकाबत्ती बालेर झकिझकाउ पारिन्छन् । बत्ती बालेपछि लक्ष्मीमाता स्थापना गरिन्छ। भएका गरगहना, पैसा, चामल, फलफूल, सेलरोटी, फूलमाला आदि सामग्री चढाएर लक्ष्मीको पूजाअर्चना गरिन्छ। लक्ष्मीपूजाका दिन गरगहनाको पूजा गरिने भएकाले बजारबाट सूनचाँदी लगायतधनमाल किन्ने चलन छ । थन्क्याएर राखिएका पूराना गरगहना समेत आज झिकेर लक्ष्मीस्थापना गरिएको कोठामा विधिपूर्वक राखी पूजा गरिन्छ । साँझ लक्ष्मीपूजा गरेपछि केटाकेटी, युवति र महिलाहरु समुह–समुह बनाई घरघर गई हर्षोल्लासपूर्वक भैलो खेल्ने परम्परा छ। अन्धकारबाट उज्यालोतर्फका लागि भन्दै आत्मिक रूपमा सुख सन्तोष प्राप्त गरौं भन्ने भावनाका साथ भैलो खेलेर रमाइलो गरिन्छ ।