काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । बेलायतबाट बिहीबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले गठबन्धन पुरै समय रहने बताए । उनले भने,-गठबन्धन पुरै समय रहन्छ। गठबन्धनमा कुनै किसिमको शंका नगर्नुभए हुन्छ। गठबन्धन चुनावसम्मै जान्छ ।
यस्तै प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग राम्रो कुराकानी भएको बताए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फलदायी कुराकानी भएको बताए । मोदीले चाँडै नेपाल भ्रमण गर्ने देउवाको भनाइ थियो । उहाँलाई मैले नेपाल भ्रमणमा आउनुस् भनेँ। तपाईंलाई नेपालमा स्वागत गर्छौं भनेँ, प्रधानमन्त्री देउवाले भने, – तपाईं पशुपतिनाथ, मुक्तिनाथ जानुहुन्छ, तपाईं धार्मिक ठाउँ जानुहुन्छ नेपालमा आउनुस् भनेँ उहाँ आउन तयार छु भन्नुहुन्छ। उहाँ नेपाल भ्रमणमा आउने मितिको कुरा भएको छैन । यस्तै उनले एमसीसी संसदबाट प्रक्रिया पूरा गरेर पास हुने भन्दै आत्तिन नपर्ने बताए । प्रधानमन्त्री देउवाले भने, सहमति गरेर हामी एमसीसी हामी पास गर्छौं, संसद् अधिवेशन अर्कै कारणले बन्द गरेका हौं, आत्तिन पर्दैन भनेको छु । प्रधानमन्त्रीको स्वागतमा काँग्रेस उपसभापति विमलेन्द्र निधि, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, परराष्ट्रमन्त्री नारायण खड्का, रक्षामन्त्री मिनेन्द्र रिजाल त्रिभुवन विमानस्थल पुगेका थिए । देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई आज स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री देउवा सो सम्मेलनमा भाग लिन यही कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए ।