धनगढी। बुधबारदेखि हवाई भाडा वृद्धि भएको छ । वायुसेवा सञ्चालक संघले एक सूचना जारी गर्दै आन्तरिक उडान तर्फको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
नयाँ भाडादर अनुसार आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ३४५ रुपैयाँसम्म ले वृद्धि गरिएको संघले जनाएको छ। काठमाडौं–धनगढी हवाई भाडा सबैभन्दा बढी ४४० रुपैयाँ बढेको छ । यो रुटमा यसअघि फ्युल सजचार्ज ३८ सय रुपैयाँ रहेकोमा पछिल्लो पटक चार हजार २४० रुपैयाँ पुगेको छ । संघका अनुसार सबैभन्दा बढी काठमाडौं–माउन्टेन फ्लाइटको ३४५ रुपैयाँ र काठमाडौं–भद्रपुर ३०० रुपैयाँले वृद्धि गरिएको छ भने सबैभन्दा कम डोटी–साफेबगर ४५ रुपैयाँ वृद्धि भएको छ ।
धनगढी–बैतडी ७१५ रहेकोमा ८०० रुपैयाँ पुगेको छ । धनगढी–बझाङ ९४५ रहेकोमा १०५५, धनगढी–बाजुरा ११७५ रहेकोमा १३१०, धनगढी–दार्चुला ८८० रहेकोमा ९८० रुपैयाँ पुगेको छ। धनगढी–डोटी ६२० रहेकोमा ६९० कायम गरिएको छ।यस्तै धनगढी–अछाम साँफेबगर ७१५ रहेकोमा ८०० पुगेको छ । धनगढी–महेन्द्रनगर ५२० रहेकोमा नयाँ भाडादर अनुसार ५८० तोकीएको छ। यस्तै डोटी–साफेबगरको ३५५ रुपैयाँ रहेको थियो भने नयाँ रेट अनुसार डोटी–साफेबगरको ४०० रुपैयाँ पुगेको छ ।
यस्तै बढेको भाडादरअनुसार अब काठमाडौं–माउन्टेन फ्लाइटको भाडा ३ हजार २९५ रुपैयाँ र काठमाडौं–भद्रपुरको २ हजार ८८० रुपैयाँ पुगेको छ । यसअघि माउन्टेन फ्लाइटको २ हजार ९५० रुपैयाँ, काठमाडौं–भद्रपुरको २ हजार ५८० रुपैयाँ रुपैयाँ रहेको थियो। यसैगरी अन्य हवाई गन्तव्यहरुको समेत भाडा वृद्धि गरिएको संघले जनाएको छ । पछिल्लो समय आयाल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याससँगै हवाई इन्धनको समेत मूल्य वृद्धि गरेसँगै हवाई भाडा समेत बढाउनु परेको संघले बताएको छ । सार्वजनिक नयाँ भाडा दरलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले गत मंगलबार स्वीकृत गरेसँगै संघले आज सार्वजनिक गरेको हो। तालिका हेर्नुहोस