धनगढी। धनगढीमा झण्डै ९ लाख अबैध रकम, सुन र चाँदीका गहना सहित ३ जना पक्राउ परेका छन्। गोप्य सुचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले अबैध रकम र गहना सहित ३ जनालाई पक्राउ गरेको हो।
प्रहरी टोलीले कार्तिक १२ गते साँझ कैलालीको धनगढी उप महानगरपालीका ४ स्थित होटल अमन प्लाजामा होटलबाट बझाङको मष्टा गाउपालिका वडा नं १ कोटदेवल बस्ने २२ वर्षीय मुकेश खड्का,१८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्कालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट ८ लाख ६९ हजार नेपाली र ३ हजार २ सय भारतीय रकम पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।
चेकजाँच गर्दा उनीहरुको साथबाट स्रोत नखुलेको रकमसहित सुनका जस्तो देखिने ३४.३६० ग्राम गरगहना र ७३७.८७ ग्राम चाँदी जस्तो धातुका विभिन्न गहना र समान पनि बरामद गरिएको बिष्टले बताए। उनीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाएको छ।