धनगढी : राजनितिक तह तथा निर्वाचित जनप्रतिनिधीहरुमध्ये महिलाहरुको निर्णायक तहमा सहभागिता न्युन देखिएको छ । दलित महिला मञ्च कैलालीले आयोजना गरेको राजनैतिक दलमा महिलाको अर्थपुर्ण सहभागिता बिषयक अन्तरक्रिया कार्यक्रममा प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमले प्रस्तुत गरेको प्रतिबेदनमा सो कुरा उल्लेख गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानिय तह मध्ये २ वटा स्थानिय तहमा मात्रै महिला प्रमुख रहेको पाइएको छ । यस्तै प्रदेशभरी ६ जना मात्रै महिला वडा अध्यक्ष रहेको प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका निमित्त प्रमुख प्रेमराज भट्टले बताए । कैलाली जिल्लामा रहेका १ सय २६ वडामध्ये ४ वटा वडामा मात्रै महिला अध्यक्ष रहेको भट्टले बताएका छन् ।
२०७२ को संबिधानले बाध्यकारी ब्यवस्था गरेकाले मात्रै स्थानिय तहका प्रमुख उप प्रमुख मध्ये १ जना महिला, वडा सदस्य मध्ये १ महिला र १ दलित महिला सदस्य निर्वाचित भएको भट्टले बताए । प्रदेश तथा प्रतिनिधिसभामापनि सबिंधानलेनै ब्यवस्था गरेकोले ३१ प्रतिशत महिला सांसद रहेका छन् । उनका अनुसार बाध्यकारी ब्यवस्था भएका कारण सांसदमा समानुपातिक महिला सांसद चुन्ने र स्थानिय तह उप प्रमुखको जिम्मेवारी महिलालाई दिने परीपाटी रहेको छ । त्यो बाहेक नेतृत्व तहमा महिला निकै न्युन रहेको भट्टले बताए ।
निर्वाचन कार्यालय प्रदेशका निमित्त प्रमुख भट्टको प्रस्तुतीकरणपछि कार्यक्रममा सहभागीहरुले राजनितिक दलहरुले महिलालाई नेतृत्वमा ल्याउनै नचाहेको बताएका थिए । उनिहरुले महिलाहरुलाई कमजोर ठान्ने भएकाले तोकिएको कोटामा मात्रै महिलालाई उम्मेदवार बनाउने गरेको सहभागी महिला जनप्रतिनिधी तथा अधिकारकर्मीहरुले बताएका थिए ।
महिलाहरुले उठाएका प्रश्नको जवाफ दिदै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटि सदस्य रमेश धामीले आफ्नो पार्टी पुर्ण रुपमा महिलाहरुलाई अधिकार दिन चाहिरहेको बताए । ३१ प्रतिशत संबिधानलेनै भनेको छ धामिले भने ‘हाम्रो पार्टी ३५ प्रतिशत महिलाहरुका लागी मात्रै अधिकार छुट्याउन तयार छ म त भन्छु ५५ प्रतिशत महिलाको सहभागिता हुनुपर्छ ।’ महिलाहरु आफैमा क्षमतावान बने कसैलेपनि नेतृत्वमा पुग्नबाट रोक्न नसक्ने धामीको तर्क छ ।
यस्तै नेपाली काग्रेंस कैलालीका उप सभापति प्रकाश बमले अबको महाधिवेशन पश्चात कैलालीको संगठन बिभाग प्रमुख महिलालाई बनाउन तयार रहेको बताए । महिला तयार भएर आए पार्टीले संगठन बिभाग प्रमुख बनाउन तयार छ उनले भने ‘क्षमता अभिबृद्धी महिलालेपनि गर्नुपर्छ क्षमता बिना कुनै पार्टीलेपनि चुनाव लडाउन्न क्षमता भएर आए हामीले ५१ प्रतिशत महिलाहरुलाई अधिकार दिन सक्छौँ ।’
नेकपा एमाले कैलालीका उपाध्यक्ष रण बहादुर चन्दले पार्टीका सबै कमिटिमा महिलालाई अवशर दिएको बताए । आजभोलीनै एमालेको वडा देखी नगर, जिल्ला तथा प्रदेशको अधिवेशन भइरहेको छ उनले भने ‘हामीले महिलालाई ग्राह्यता दिएर अवशर दिइरहेका छौँ, एमाले पार्टी महिलाको पक्षमा जहिलेपनि काम गरिरहेको छ ।’ एमालेले कति महिलालाई अवशर दिएको छ सहभागिता गराएको छ महाधिवेशन पश्चात सार्वजनिक गर्ने चन्दले बताए ।
चुनाव निकै खर्चिलो भएको छ उनले भने ‘सबै महिला आर्थिक हिसाबमा परिपक्क छन भन्न सकिन्न, सबै पुरुषपनि आर्थिक हिसाबमा बलियो छैनन् जुन मान्छे परिपक्क छ जनतामाँझ निर्वाचित हुन सक्छ त्यो लाई पार्टीले चुनावमा टिकट दिने हो त्यसमा महिला पुरुष जोपनि पर्न सक्नुहुन्छ, तरपनि महिलाका लागी कोटानै निर्धारण गरेर हामी सहभागिता बढाइरहेका छौँ ।’
कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजबादी सुदूरपश्चिम प्रदेशसभाकी प्रमुख सचेतक दुर्गा बिकले दलहरुबाट संबिधानले दिएको अधिकार कार्यान्वयन नभइरहेको बताइन् । सबै दलले संबिधानबाट पाएको अधिकार कार्यान्वयन मात्रै गरेपनि महिला नेतृत्व तहमा पुग्न सक्छन् उनले भनिन् ‘नेताको नजिक भएको मान्छे, आर्थिक हिसाबमा बलियो भएको मान्छे नेताका रोजाइमा पर्छन महिलाका लागी पार्टीले किन लगानी लगाउन सक्दैन ।’
हाम्रा आन्दोलनले धेरै उपलब्धी हासिल गरेको छ उनले भनिन् ‘तर यी उपलब्धी अनुसार ५० प्रतिशतपनि कार्यान्वयन भएको छैन बिभिन्न किसिमले हाम्रा महिला समेत प्रभावमा पर्ने गरेका छन् ।’ राजनितिक दल सबै ईमान्दार बन्नुपर्छ उनले भनिन् ‘सबै ईमान्दार भए मात्रै हामीले भनेका कुरा प्राप्त गर्न सक्छौँ हामीले प्रदेशसभामा उठाउने आवाजमा कमि हुने छैन अधिकारका लागी अँझैँ लडाई बाँकी छ हामी एकताबद्ध हुनुपर्छ ।’
दलित महिला अधिकार मञ्चकी अध्यक्ष साबित्रा घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य उमादेवी वादी, देवकी मल्ल, मालामती राना, धनगढी उप महानगरपालिकाकी उप प्रमुख शुसिला मिश्र भट्ट लगायत बिभिन्न जनप्रतिनिधीहरु, राजनितिकर्मी, महिला अधिकारकर्मीहरुको सहभागिता थियो ।