काठमाडौं। बेन्च बहिष्कार गर्दै आएका न्यायाधीशहरूले समस्याको निकासका लागि प्रधानन्यायाधीशसँग पुनः वार्ता गर्ने निर्णय गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको आइतबार बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सोमबार छलफल गर्ने निर्णय गरेको हो ।
छलफलका लागि वातावरण बनाउन आइतबार नै केही न्यायाधीशले प्रधानन्यायाधीशसँग भेट गरी बैठकको निर्णयबारे जानकारी दिएको स्रोतले जनाएको छ । प्रधानन्यायाधीशसँगको भेटमा गएका न्यायाधीशहरूले प्रधानन्यायाधीशको धारणासमेत बुझ्ने र त्यसबारे आन्तरिक छलफल गरी सोमबार थप रणनीति बनाइने जनाइएको छ । न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर बहिर्गमन हुनु नै उपयुक्त निकास भएको ठहरसमेत गरेको छ । यसका लागि प्रधानन्यायाधीशले केही समय मागेको खण्डमा समय दिने निर्णयसमेत भएको बताइएको छ । यद्यपि, बैठकले प्रधानन्यायाधीशको बहिर्गमन नै हुनुपर्ने अडान लिएको छ ।
यस्तै आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेका छन्।न्यायाधीशहरू सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको वार्ता समिति गठन गरिएको हो। सर्वोच्चका न्यायाधीशहरूबीचको छलफलपछि गठित वार्ता टोली प्रधानन्यायाधीशसँगको वार्ताका लागि उनको च्याम्बरमा पुगेको छ। वार्ताका लागि जाँदैछौं। वार्तापछि हामी फेरि सामूहिक छलफल गर्छौुं, समितिमा रहेका एक न्यायाधीशले भने। अघिल्लो आइतबारदेखि न्यायाधीशहरूले इजलास बहिष्कार गरेर प्रधानन्यायाधीश राणामाथि राजीनामाको दबाब बढाएका छन्।