बझाङ । २ हप्तादेखि अवरुद्ध बझाङको जयपृथ्वी राजमार्ग खुलाउन सेना परिचालन गरिएको छ।
केदारस्युँ गाउँपालिका–१ को नारुगौडामा असोज ३१ गते परेको अविरल बर्षका कारण अवरुद्ध रहेको राजमार्ग खुलाउन नसकेपछि वीरभद्रजंङ गुल्मको सुरक्षा सेना बागथलाको टोली खटाइएको हो।
असोजको अन्तिम तथा कार्तिक महिनाको पहिलो साताबाट शुरु भएको बेमौसमी वर्षाले राजमार्गको विभिन्न स्थानमा ठूलो पहिरो खसेको थियो। अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन पाटनले राजमार्ग खुलाउन डोजर प्रयोग गरी राजमार्ग खुलाउने प्रयास गरेको थियो। पहिरोको बीचमा ठूलाठूला ढुंगा र चट्टान भएकाले डोजरको प्रयोग गरी राजमार्ग खुलाउन नसकिएपछि नेपाली सेनाले विष्फोट गरी सडक खुलाउने प्रयास गरिरहेको छ।
सेनाले शुक्रवार र शनिबार दिनभर ब्रेकरले हुल खोप्ने काम भएको र आइतबारबाट विष्फोट गर्न सुरु गर्ने भएको छ। जिल्ला सदरमुकाम जोड्ने मुख्य जयपृथ्वी राजमार्ग व्यस्त राजमार्ग हो। राजमार्ग खुलाउन प्रयास भए पनि वर्षाका कारण ग्रामिण सडकहरू पनि निकै जोखिम छन्। राजमार्गको नारुगौडामा विष्फोट गरी राजमार्ग खुलाए पनि छविसपाथिभेरा गाउँपालिका-१ को जालेबगरमा भने पानी सडकमै भएकाले पानी कम नहुँदा सम्म राजमार्ग खुलाउन नसकिने सडक डिभिजन कार्यालय पाटनका सब इन्जिनियर इन्द्रराज जोशीले बताए।