धनगढी : माओवादीबाट एमाले प्रवेश गरी हाल सुदूरपश्चिम प्रदेशका ईन्चार्ज लेखराज भट्टले गृह नगर गोदावरी नगरपालिकामा आफ्ना भाइलाई नगर अध्यक्ष बनाउने तयारी गरेपछि नगर कमिटिको चुनाव हुने सम्भावना बढेको छ । नगर अध्यक्षका लागी लेखराजका भाई गोकर्ण भट्ट र एमालेका पुर्ब अध्यक्ष समेत रहेका आनन्द भट्ट प्रतिस्पर्धामा उत्रिएका छन् ।
दुबैले वडा तहमा आ आफ्नो पक्षका प्रतिनिधि ल्याउने निकै कसिएका छन् । माओवादीबाट एमालेमा गएका गोकर्ण भट्टलाई एमालेले नगर अध्यक्ष बनाएको थियो । तत्कालिन एमाले अध्यक्ष समेत रहेका आनन्द भट्ट नगरका सचिव बनेका थिए । अहिले एमालेको १० औँ महादिवेशनमा आनन्द भट्ट अध्यक्षको उम्मेद्वार बनेका छन् । आनन्दसंगै गोकर्ण भट्टपनि अध्यक्षकै उम्मेदवार बनेका छन् ।
पुर्ब एमाले र पुर्ब माओवादीका यी नेताहरुले नगर अध्यक्षको दावी संगै चुनावनै लड्ने मनसाय बनाइसकेपछि गोदावरीमा पुर्ब एमाले र पुर्ब माओवादी खेमा प्रस्ट देखिएको छ । वडामा आफ्नो पक्षको नेतृत्व चयन गर्ने देखी नगर प्रतिनिधी बनाउनमा उनिहरु निकै दौडधुपमा थिए । दुई खेमा प्रस्ट देखिएपछि ४ वटा वडामा अँझै सहमती जुट्न सकेको छैन ।
वडा नम्बर १, ५, ४ र ७ नम्बर वडामा सहमती नजुट्दा नेतृत्व चयन हुन नसकेको हो । वडा नं. २ मा डम्मर साउँदको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि सर्वसम्मत चयन भएको छ भने वडा नं. ३ मा विरेन्द्र अवस्थीको अध्यक्षतामा सर्वसम्मत वडाकमिटि चयन भएको छ ।
यसैगरी वडा नं. ६ मा सन्तोष सिँहको अध्यक्षतामा, वडा नं. ८ मा गोबिन्द चौधरीको अध्यक्षतामा, वडा नं. ९ मा सर्जन ठकुल्लाको अध्यक्षतामा, वडा नं. १० मा झंकर कोलीको अध्यक्षतामा, वडा नं. ११ मा लोक बहादुर कोलीको अध्यक्षतामा र वडा नं. १२ मा नन्द सिँह बि.क को अध्यक्षतामा सर्वसम्मत रुपमा वडाकमिटिहरु चयन भएका नेकपा एमालेका गोदावरी नगरकमिटि सचिव आनन्द भट्टले जानकारी दिए । एमालेको नगर अधिवेशन यही कार्तिक १५ गते हुदैछ ।