बझाङ। बझाङलाई विपद्ग्रस्त जिल्ला घोषणा गर्न माग गरिएको छ । बेमौसमी वर्षाका कारण बाढीपहिरोले पुर्याएको क्षतिको अवस्था बुझ्न संघीय संसद्को विकास तथा प्रविधि समितिको टोली बझाङपुगेपछि सुझाव संकलनका क्रममा विपद्ग्रस्त जिल्ला घोषणा गर्न माग गरिएको हो।
समिति सभापति कल्याणी खड्काको नेतृत्वको टोलीले शुक्रबार सदरमुकाम चैनपुरमा अन्तर्क्रिया गर्दै जिल्लावासीसँग सुझाव मागेको थियो । सहभागीले बझाङलाई निरन्तर बाढीपहिरोले तहसनहस पारेकाले विपद्ग्रस्त जिल्ला घोषणा गरिनुपर्ने माग गरे । कात्तिक पहिलो साताको बेमौसमी वर्षापछि आएको बाढीपहिरोले बझाङमा १२ जनाको मृत्यु भएको थियो भने १९ बेपत्ता छन् । ४ सयभन्दा बढी घर भत्किएका छन भने ८ सय ८६ परिवार विस्थापित छन् ।
जयपृथ्वी राजमार्गसहित सबैजसो ग्रामीण सडक ठप्प छन् भने विद्युत् अवरुद्ध छ । सदरमुकाम चैनपुरबाहेक जिल्लामा अन्त बिजुली छैन । २ हजार रोपनीभन्दा बढी खेतीयोग्य जमिन बगाएको प्रारम्भिक अनुमान छ । विपद्को १२ दिन बितिसक्दा पनि क्षतिको पूर्ण विवरण अझै तयार भइसकेको छैन । सेनाको हेलिकोप्टरमा आएको समितिको टोलीलाई प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लाको क्षतिको विवरण सुनाए । उनले भने ‘पुनर्निर्माण र पुनर्स्थापनाका लागि विशेष कार्यक्रम घोषणा गर्नुपर्यो ।’
बझाङकी सांसद आशा विकले जिल्ला नै छियाछिया भएको बताइन । ‘१५/२० वर्षयता विकासको क्षेत्रमा भएको लगानी सबै खतम भएको छ,’ उनले भनिन् । सभापति खड्काले सरकारलाई उचित सुझाव र निर्देशन दिने बताइन । नेपाल वायुसेवा निगमको नियमित उडान सञ्चालन र खाद्यान्नको व्यवस्थापनका लागि पनि पहल गर्ने आश्वासन उनले दिइन । सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन थापाले पुनर्निर्माण र पुनःस्थापनाका कार्यक्रम कसरी गर्न सकिन्छ भनेर सर्वपक्षीय छलफल गरेका छन् ।