बझाङ। वर्षासँगै आएको बाढीले जयपृथ्वी राजमार्ग ठाउँठाउँमा भत्किएपछि वैकल्पिक मार्गको खोजी हुन थालेको छ। दुई हप्तासम्म सो सडक सञ्चालनमा नआएपछि पानकोट-गोलाइ-सुतिया-मालुमेला-झनाना सडक र भाँडेबगर-मेल्लेख-नौरा-चैनपुर सडक सञ्चालनमा ल्याउन पहल थालिएको छ ।
केदारस्युँ-१ नारूगौडा खोलामा रहेको चट्टान फुटाएर वैकल्पिक सडक प्रयोग गर्ने प्रयास भइरहेको छ । छविसपाथीभेरा-१ जालेबगरमा तत्काल सम्भव नभएपछि वैकल्पिक सडकको खोजी शुरु भएको हो ।
छबिसपाथिभेरा गाउँपालिकाले भाँडेबाट ब्यासी, मेल्लेक हुँदै सुवेडा जोड्ने सडक मर्मत गरिसकेको गाउँपालिका अध्यक्ष अक्कल धामीले बताए । अहिले जयपृथ्वी राजमार्ग बन्द हुँदा बझाङ सदरमुकाम चैनपुरलगायत साना(ठूला बजारमा तरकारी, इन्धन, खाद्यान्नलगायतको अभाव हुनुका साथै चर्को मूल्यवृद्धि भएको छ ।