कैलाली। केन्द्रमा महाधिवेशन प्रतिनिधि छनोटको मापदण्ड तय गर्न केन्द्रीय कमिटीको बैठक बसिरहँदा कैलाली जिल्लाको उजुरी परेको छ । बिहीबार कैलाली जिल्लाका इन्चार्ज र सहइन्चार्ज दुवैले केन्द्रीय कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
एमाले विवाद निरुपणका लागि गरिएको दश बुँदे सहमतिलाई सुदूरपश्चिम प्रदेशमा लागु नभएपछि विवाद सिर्जना भएको हो।सुदुरपश्चिमका धेरैजसो वडा र पालिकामा अझै अधिवेशन हुन सकेको छैन । एमाले केन्द्रीय कार्यालयले बाढी पहिरोको कारण सुदूरपश्चिम प्रदेशमा वडा र पालिका अधिवेशन नभएको जनाए पनि त्यहाँ विवाद देखिएपछि अधिकांश वडा र पालिकामा अधिवेशन रोकिएको हो ।
यही क्रममा कैलालीमा जिल्ला इन्चार्ज झपट रावलले नयाँ सदस्यता वितरण भएको पार्टीको निर्णय कार्यान्वयन नभएको भन्दै संगठन विभागमा उजुरी गरेका छन् । पार्टी केन्द्रीय कमिटीको भदौ १० गतेको बैठकले २०७७ चैतसम्म पार्टी सदस्यता प्राप्त गरेको व्यक्तिमात्र चुन्ने–चुनिने अधिकार राख्ने पार्टी निर्देशन विपरीत पार्टी जिल्लाको बैठक नबसी नयाँ पार्टी सदस्यता वितरण गर्ने, त्यसरी तत्कालै अवैध रुपमा वितरण गरिएका पार्टी सदस्यहरुलाई चुन्ने चुनिने अधिकार दिइने भनी जिल्ला कमिटीको नाममा सर्कुलर जारी भएको भन्दै पार्टीको संगठन विभागमा उजुरी दिएका हुन् ।
उनले यस्ता गतिविधिले पार्टीको प्रणाली ध्वस्त हुने र पार्टी अराजकतातर्फ जाने परिस्थिति निर्माण भएको हुँदा तत्काल यस्ता गतिविधि रोकी पार्टी केन्द्रीय निर्देशन बमोजिम चुन्ने चुनिने अधिकार कायम गराउन ध्यानाकर्षण गराउन चाहन्छु भन्दै संगठन विभागमा उजुरी दिएका हुन् । ‘नयाँ पार्टी सदस्य वितरण गर्दा जिल्ला कमिटीको बैठकले निर्णय गर्ने र प्रदेश कमिटीले अनुमोदन गरी प्रक्रिया पूरा भएका व्यक्तिहरुलाई मात्र नयाँ पार्टी सदस्यता प्रदान गर्ने, पार्टी एकता हुँदा तत्कालीन नेकपा (माओवादी केन्द्र) को १० हजार ८३७ पार्टी सदस्य र एमालेको १४ हजार ५९६ पार्टी सदस्यता रहेको विवरण पार्टी जिल्ला कमिटी कैलालीमा र पार्टी प्रदेश कमिटीलाई प्राप्त भएको थियो । सोको विवरण हाल पार्टी कार्यालय कैलाली र प्रदेश कार्यालय धनगढीमा सुरक्षित रहेको र दुई पार्टीको एकता हुँदा कायम रहेका पार्टी सदस्यहरुको नवीकरण गर्ने र अन्य नयाँ पार्टी सदस्य वितरण गर्दा पार्टीको मापदण्ड अपनाउनपर्नेछ’, इन्चार्ज रावलले दिएको उजुरीमा उल्लेख छ ।
रावलपछि सहइन्चार्ज देवकोटाले पनि संगठन विभागलाई बुधबार नै अर्को जानकारी पत्र पठाएका छन् । ‘नेकपा (एमाले) कैलाली जिल्लामा पार्टीको मूल्य मान्यता, विधि, पद्दति, पार्टीको निर्देशनभन्दा बाहिर गई गतिविधि भइरहेको व्यहोरा भई अवगत गराउन चाहन्छु, आजका मितिसम्म कुनै वडा र पालिकाका अधिवेशन भएका छैनन् ।कुनै पालिका र वडाको सदस्यता यकीन हुन सकेको छैन । यही कात्तिक ६ गतेको वडा अधिवेशन १२ र ९ गतेको पालिका अधिवेशन यही कात्तिक १५ गतेको लागि तय भएको छ’, सो जानकारी पत्रमा उल्लेख गरेका छन् ।उनले जिल्ला कमिटी संगठन विभागको असहमतिका बाबजुद अध्यक्ष रतन थापा र सचिव दानबहादुर विक ‘चित्रण’ करिब नौंं हजारको हाराहारीमा पूर्वमाओवादी केन्द्र तर्फका भन्दै काल्पनिक हो वा पूर्व एमालेको भन्दै नाम, सूची र शुल्क सोझै केन्द्रमा बुझाउने गरी धनगढीबाट काठमाडौं प्रस्थान गरेको सूचना प्राप्त भयो ।यदि त्यसो गरी आएका नामलाई सोझै पार्टी सदस्यता मानी प्रस्तावित अधिवेशनमा सहभाभी गराइयो भने सुदूरपश्चिमको तीन हिस्साको एक हिस्सा रहेको कैलालीमा एमाले पार्टीलाई ठूलो क्षति पुग्ने जनाइएको छ ।