बझाङ। बझाङको थलारा गाउँपालिका–४ डिक्लामा पहिरोमा परेर बेपत्ता मध्ये हालसम्म ४ जनाको शव फेला परेको छ । कात्तिक १ गते बेमौसमी बर्षाका कारण थलारा गाँउपालिकामा गएको पहिरोमा परि दुई परिवारका २३ जना बेपत्ता भएका थिए।
बेपत्ता भएका मध्ये चार जनाको मात्र शव फेला परेको थियो । उनीहरुको शव नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले फेला पारेको थियो । तर १९ जना अझै बेपत्ता रहेका छन् । बेपत्ताहरु फेला नपरेपछि बुधबारदेखि खोजी कार्य बन्द गरिएको छ । आठ दिनसम्म लगातार खोजी गरेको उद्धार टोलीले शव नभेटाएपछि १९ जनाको अवस्था पत्ता नलाग्दै खोजीकार्य बन्द गरेको हो।
घटना भएको दोस्रो दिनमात्रै हेलिकप्टरमार्फत घटनास्थलमा पुगेको टोलीले खोजीकार्य थालेको थियो । पर्याप्त जनशक्ति, उपकरण र प्रविधिको अभावमा खोजीकार्य सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाले जानकार दिए। उनले भने, ‘नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी सम्मेलत टोली उद्धार कार्यमा संलग्न थियो । एक साता भन्दा बढी भयो खोज्न थालेको अब मान्छे जिउँदै होलान् भन्ने आसा पनि छैन । अब भेटिने सम्भावना नदेखेरै टोली बुधबार साँझ घटनास्थल बाट फर्केको हो ।’ वेपत्ता भएकाहरू जिवित भेटिने सम्भावना नरहेकाले खोजीकार्य बन्द भएको र आवश्यक प्रक्रिया पु¥याएर बेपत्ता सबैलाई मृत घोषणा गर्ने तयारी भईरहेकोप्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए। बेपत्ताको शव भेटे अन्तिम संस्कार गर्नसक्ने अवस्था रहेकोमा उद्धार टोली नै फर्किएकोमा पीडित परिवार भने दुखित बनेका छन् ।