बझाङ। स्थानीयले धनगढी–बझाङ नियमित उडान गर्नुपर्ने माग गरिरहेका बेला यात्रु नपाइएको भन्दै खाली जहाज उडाउन थालिएको छ । आइतबारदेखि धनगढी–बझाङमा उद्धार उडान थालेको नेपाल वायु सेवा निगमको जहाजले यात्रु नै नल्याएर खाली जहाज उडाउन थालेको हो ।
टिकटको खोजीमा रहेका यात्रुले निगम कर्मचारीसँग सम्पर्क हुन नसकेको बताएका छन् भने निगमले धनगढीमा यात्रु अभाव भएको दाबी गर्दै उडान नियमित नहुने जनाएको छ । निगमका नायव महाप्रबन्धक गणेश चन्दले भने, ‘धनगढीबाट बझाङ जाने यात्रु दुई जना मात्रै भए भन्ने रिपोर्ट आएको छ ।
यस्तो अवस्थामा कसरी उडाउन सकिन्छ ?’ कुराकानीमा पनि उनले धनगढीमा यात्रु अभाव रहेको जानकारी आएको बताए । यद्यपि सयौं यात्रुले धनगढीबाट बझाङ आउन चाहेको बताइरहेका छन् । ‘हामीले दुई दिनदेखि टिकट काट्न निगमका कर्मचारी खोज्यौं तर नभेटेपछि भनसुन गरेर निजी एयरलाइन्सको टिकट लिएका छौं,’ भारतबाट १२ जनाको समूहमा आएका मस्टा गाउँपालिकाका कलक बोहराले भने, ‘अहिले निगमको जहाज ९ जना मात्रै यात्रु लिएर गयो भन्ने खबर सुनियो । यहाँ मान्छे भने टिकट नपाएर भौंतारिएका छन् ।’ उनले आफ्नो सम्पर्कमा रहेका धनगढीबाट बझाङ आउन चाहने ७० जनाभन्दा बढीले टिकट नपाएको बताए ।
नायब महाप्रबन्धक चन्दले एक कर्मचारीलाई धनगढीमा टिकट व्यवस्थापनका लागि नेपालगन्जबाट खटाइएको बताएका छन् । बझाङका स्थानीयले भने धनगढीमा यात्रुको चाप हुँदाहुँदै जहाज खाली उडाएर नियमित उडान रोक्ने निगमका कर्मचारीको चालबाजी भएको आरोप लगाएका छन् । ‘मेरा १५/२० जना आफन्त धनगढीबाट बझाङ आउने टिकट नपाएर एक सातादेखि होटलमा छन्,’ सुर्मा गाउँपालिकाका दीपक बोहराले भने, ‘यहाँ खाली जहाज आयो भन्दा अचम्म लागेको छ ।’निगमको उद्धार उडानको आसमा रहेका सयौं यात्रु निराश बनेका छन् ।
जयपृथ्वी नगरपालिका–९ की ६७ वर्षीया रमा खड्का त एक सातादेखि जहाजको टिकट खोज्न भौंतारिएकी छन् । बझाङमा नियमित उडान गरिरहेको एक मात्रै निजी विमान कम्पनी समिट एयरको टिकटका लागि धाएकी उनी टिकट पाउन नसकेपछि निराश थिइन् । निगमको जहाजको समेत टिकट नपाएपछि उनी अलपत्र परेकी छन् । निगमले उद्धार उडान गर्ने जानकारी पाएपछि दसैं बिदामा घर आएका नाति–नातिनालाई धनगढी पठाउन उनी सदरमुकाम चैनपुर पुगेर टिकटको लाइनमा बसिन् । बिहान १० बजे पुगेकी उनलाई उडानको टिकट सकिएकाले अर्को दिन आउन भनियो ।
मंगलबार बिहान ८ बजे खाना नखाई उनी लाइन बस्न पुगिन् । तर दिउँसो ४ बजेसम्म पनि टिकट काट्ने कर्मचारी आइपुगेनन् । यतिन्जेल लाइनमा बस्नेको संख्या ७६ पुगिसकेको थियो । दिउँसो ३ बजे जो पहिला आयो उसैले मात्रै टिकट पाउने उर्दी जारी गरेका निगमका कर्मचारी ४ बजेसम्म पनि सम्पर्कमा आएनन् । फोनसमेत अफ भएपछि यात्रु आक्रोशित भए । ‘बिरामी मान्छे सकिनसकी भोकभोकै बिहानदेखि लाइन लागें । टिकट काट्ने मान्छे नै आएन,’ रमाले आक्रोश पोख्दै भनिन्, ‘गाडीबाट पठाऊँ भने गाडी चल्दैन । प्लेनको टिकटको हालत यस्तो छ ।’अब त सरकारी जहाज आयो सुविधा होला भनेको त सास्ती मात्रै पायौं ।’सर्वसाधारणले टिकटै पाएनन्,’ बिहान ८ बजेदेखि नै लाइन बसेका तेज कठायतले भने। बझाङका सहायक प्रमुख जिल्ला अधिकारी राजाराम गौतमले पारदर्शी तरिकाले टिकट वितरण गर्न प्रमुख जिल्ला अधिकारीले स्पष्ट निर्देशन दिएको बताउँदै निर्देशन नमाने निगमका कर्मचारीलाई बोलाएर कारबाही गर्ने बताए । ‘विपतद्का बेलामा समस्या परेकाहरूलाई सहज हुने गरी टिकट नदिएर सास्ती कसैले दिन पाउँदैन,’ उनले भने, ‘यस्तो बेलामा जनतालाई दुःख दिने काम भएको रहेछ भने हामी बुझेर कारबाही गर्छौं ।’