धनगढी। कैलालीको गौरीगंगा नगरपालिका-१ चौमालामा रहेको एमाले पार्टी कार्यालय स्थानीय प्रशासनले आफ्नो नियन्त्रणमा लिएको छ । एमाले र एकीकृत समाजवादीबीच विवाद बढेपछि कैलालीको गौरीगंगामा एमाले पार्टी कार्यालय प्रशासनको नियन्त्रणमा लिइएको हो।
एमाले र त्यस दलबाट छुट्टिएको नेकपा एकीकृत (समाजवादी)का कार्यकर्ताका बीचमा भवन प्रयोगका विषयमा विवाद हुँदा झडपको अवस्था सृजना भएकाले शान्तिसुरक्षा कायम राख्नका लागि भवन नियन्त्रणमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले कार्यालयमा आ–आफ्नो दाबी गर्दै झडपको अवस्था सिर्जना भएर गौरीगंगा नगरपालिका तनावग्रस्त भएपछि सूचना टाँस गर्दै नियन्त्रणमा लिइएको जानकारी दिए । ‘पार्टी कार्यालयको भवन प्रयोग गर्ने विषयमा भएको विवादले शान्ति सुरक्षामा प्रतिकूल अवस्था सिर्जना भएकाले धनजनको क्षति हुन नदिन दुवै पक्षको सहमति नहुन्जेलसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ अनुसार दुवैले प्रयोग गर्न नपाउने गरी नियन्त्रणमा राखिएको छ,’ जोशीले भने।प्रशासनले दुवै दलको सहमति नभएसम्मका लागि कसैलाई नदिने जनाएको छ । ‘दुबै पक्षको सहमति नभएसम्मका लागि दुबै पक्षलाई भवन प्रयोग गर्न नदिने निर्णय गरिएको छ,’ प्रशासनले टाँस गरेको सूचनामा भनिएको छ । पार्टी कार्यालय भवनको सुरक्षाका लागि प्रहरी खटाइएको छ । विगतदेखि नेकपा एमालेको पार्टी कार्यालय सञ्चालन हुँदै आएको उक्त भवन आफूहरूले प्रयोग गर्न पाउनुपर्ने माग गर्दै एकीकृत समाजवादीका नेता कार्यकर्ताले तालाबन्दी गरेपछि विवाद उत्पन्न भएको हो ।
एकीकृत समाजवादीका नेता कार्यकर्ताहरूले एमालेमा हुँदा आफ्नै अगुवाइमा भवन निर्माण गरिएको भन्दै प्रयोग गर्न पाउनुपर्ने माग अघि सारेका छन् । तर एमालेले पार्टीको सम्पत्ति अर्को पार्टीमा गएकाहरूलाई दिन नसकिने बताएको छ ।प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । तीन दिनअघि उक्त भवन प्रयोगका विषयमा दुबै दलका स्थानीय कार्यकर्ताका बीचमा विवाद हुँदा सामान्य झडप भएको थियो ।मंगलबार नेकपा एमाले निकट राष्ट्रिय युवा संघले ताला फुटाएपछि विवाद झनै बढेको थियो ।