काठमाडौं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछन्। पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने एमालेले जनाएको छ ।
अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। केही जिल्लामा भने प्राविधिक कारण देखाउँदै पालिका अधिवेश सारिएको छ। बाढीपहिरो प्रभावित केही जिल्लाहरूमा पनि आज अधिवेशन हुन नसक्ने सम्बन्धित जिल्ला कमिटीले जनाएको छ।
एमालेले यसअघि नै कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको थियो । जसअनुसार ६ गते वडा अधिवेशन सम्पन्न भइसकेका छन् । बाढीपहिरो प्रभावित भएका ठाउँ र सहमति हुन नसकेका केही ठाउँमा भने वडाको नेतृत्व चयन हुन सकेको छन् । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष र सचिव एक/एक जना, उपसचिव दुई जनासहित महानगरपालिका १०१, उपमहानगरपालिकामा ८५ र नगरपालिका र गाउँपालिकामा ७५ सदस्यीय कमिटी चयन गर्ने छ ।