धनगढी। सुदूरपश्चिममा बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारले राहतस्वरूप १ लाख रूपैयाँ दिने भएको छ ।
बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई सुदुरपश्चिम प्रदेश सरकारले राहतस्वरूप १ लाख रूपैयाँ र किरिया खर्चवापत तत्काल प्रतिपरिवार २० हजार रूपैयाँ राहत दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले जानकारी दिईन् ।
बेमौषमी वर्षाका कारण पूर्णरूपमा क्षति भएका घरपरिवारलाई तत्काल ५० हजार रूपैयाँ र घाइते सम्पूर्णलाई निः शुल्क उपचार गर्ने निर्णय भएको मन्त्री जोशीले जानकारी दिइन् । राहत तथा उद्धारमासमेत प्रदेश सरकार लागि परेको बताउँदै मन्त्री जोशीले शनिबार मात्रै नेपाली सेनाको हेलिकप्टरमार्फत डोटी र बझाङमा खाद्यान्न ढुवानी गरिएको जानकारी दिइन् ।
उनले आज आइतबार देखि सुदुरपश्चिम प्रदेशका अन्य जिल्लामासमेत राहत सामग्री पठाइने योजना सुनाइन् । ३१ असोजदेखि ३ कात्तिकसम्म परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी सुदुरपश्चिम प्रदेशमा ३४ जनाको मृत्यु भएको छ भने सोही अवधिमा २२ जना बेपत्ता भएको प्रदेश सरकारले जनाएको छ ।