प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा परिवारसँगै दसैं मनाएका छन् । पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुभ साइतमै परिवारका सदस्यहरुलाई टीका लगनइदिएका छन् ।
प्रधानमन्त्री देउवाले पत्नी आरजु, छोरा जयवीर तथा भतिजहरु भानु र प्रकाशलाई टीका लगाइदिएका थिए । प्रधानमन्त्री देउवाले भने पत्नी आरजुकै हातबाट टीका ग्रहण गरेका छन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार माता पिता दुवैजनाको निधन भइसकेका कारण प्रधानमन्त्रीले पत्नीको हातबाट टीका ग्रहण गरेका हुन् ।
यसअघि शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले दसैंमार्फत सबै नेपालीमा आपसी सद्भाव र भाइचारा अभिवृद्धिको कामना गरेका थिए ।