धनगढी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार राति गोकुलेश्वरदेखि सतंबाज आउँदै गरेको ट्याक्टर साढे १२ बजे दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ को तारलमा दुर्घटना हुँदा जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ पंसेराका २३ वर्षीय योगेश पालको मृत्यु भएको हो। मृतक योगेश नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा हुन् ।
आफैले चलाएको ट्याक्टर दुर्घटनामा पर्दा गम्भीर घाईते भएका उनको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोधराज ओझाले जानकारी दिए । यस्तै दुर्घटनामा परी घाइते हुनेमा सोही ठाउँका रुपेश कोली रहेका छन् ।
उनको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रवक्ता ओझाले बताए । दुर्घटनाको कारण भने खुलेको छैन। मृतक पाल केही समय अगाडि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।