धनगढी। कैलालीको ईलाका प्रहरी कार्यालय टीकापुरमा प्रहरीको हिरासत भित्र एक व्यक्ति मृत अवस्थामा भेटिएका छन ।
कैलाली प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत भित्र सुर्खेतको चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षका धनबहादुर राना मगर मृत अवस्थामा भेटिएका हुन्। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रकाश सापकोटाका अनुसार उनी हिरासत भित्रै रहेको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका छन ।
उनका अनुसार उनी आज बिहान ६ बजेतिर शौचालय भित्र गएका थिए। शौचालय भित्र गएका राना मगर धेरै बेरसम्म बाहिर नआएपछि हिरासतमा रहेका अन्य व्यक्तिहरुले प्रहरीलाई खबर गरेको डिएसपी सापकोटाले बताए । हिरासत भित्र थप पाँच जना समेत रहेका छन । उनका अनुसार शौचालयको ढोका फोडेर हेर्दा राना मगर आफ्नो गन्जी (भित्री वस्त्र) को पासो लगाएर भेन्टिलेसनमा झुण्डिएको अवस्थामा भेटिएका छन ।
कैलाली प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी)विश्व अधिकारीले घटनाका बारेमा थप अनुसन्धान भैरहेको जानकारी दिए । उनी आफै घटनाको अनुसन्धानमा खटेका छन । प्रहरीका अनुसार मृतक राना मगर भैंसी चोरेको आरोपमा हिजो मात्रै पक्राउ परेका हुन । उनी जानकी गाउँपालिका दुर्गौलीबाट एक स्थानीयको भैंसी चोरेर भाग्दै गर्दा पक्राउ परेका थिए ।