बैतडी। बैतडीको पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा चोरी भएको छ । घटस्थापनाको अघिल्लो रात मन्दिरमा राखेको दानपेटिका फोडेर चोरले पैसा लगेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।
दानपेटिका कति रुपैंया थिए भन्ने कुरा खुलेको छैन् । तर एक बर्षदेखि दानपेटिका नखोलेको हुनाले दानपेटिकामा पैसा हुनसक्ने बताइएको छ । मन्दिरबाट दानपेटिका ल्याएर चोरले मन्दिर गेट नजिकै फोडेको अवस्थामा फेला परेको स्थानीय लवदेव जोशीले बताए । यस्तै मन्दिरमा नवरात्रका लागि बस्न आएका एकजना भक्तजनको पैसा समेत लुटिएको छ ।
महेन्द्रनगरबाट मन्दिरको दर्शनका लागि आएका गणेशबहादुर चन्दको १७ हजार रुपैया चोरिएको प्रहरीले जनाएको छ । चन्द मन्दिरमा सुतेको मौका पारेर उनको पैसा लुटिएको हो ।चोरीमा संलग्न भएकाहरुको खोजी भईरहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए। कसले चोरेको हो भन्ने कुरा एकीन नभएपनि २–३ जनामाथि निगरानी राखेर अनुसन्धान भईरहेको प्रहरी निरीक्षक शाहीले बताए ।