सत्तारुढ ४ दलिय गठबन्दनले सहमती गरे अनुसार बागमती र प्रदेश नम्बर १ मा एकिकृत समाजवादीले सरकारको नेतृत्व गर्ने छ । यस संगै २ प्रदेशमा एकिकृत समाजवादी, १/१ काग्रेंस र जसपा तथा ३ प्रदेशमा माओवादीको नेतृत्व हुन लागेको छ । भागबण्डा अनुसार काग्रेंस, माओवादी र एकिकृत समाजबादीले २/२ प्रदेश तथा जसपाले १ प्रदेशको नेतृत्व गर्ने सहमती भएको थियो ।
नेकपा एस ले बागमती र १ नम्बर प्रदेशको नेतृत्व गर्ने भएपछि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व काग्रेंसले गर्ने सहमतीपनि भएको छ । यसकै लागी काग्रेंस नेतृत्वको सरकार गठन गराउनुपर्ने माग राख्दै काग्रेंस सुदूरपश्चिमका नेताहरु बालुवाटार पुगेका छन् । अब काँग्रेसले सुदूरपश्चिममा मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै प्रदेशका काँग्रेस नेताहरु शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतले बताएको छ।
सुदूरपश्चिमबाट काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलको टोली मुख्यमन्त्री फेर्न माग गर्दै बालुवाटार पुगेको हो। प्रदेश १ वा बागमतीमा काँग्रेसले आफ्नो दाबी छाडेपछि अब सुदूरपश्चिममा काँग्रेसले मुख्यमन्त्री पाउनुपर्ने रावलले प्रधानमन्त्री देउवासँग माग गरेका छन्।
हाल सुदुरपश्चिम प्रदेशमा नेकपा माओवादीबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। उनलाई एकीकृत समाजवादीको समर्थन छ। यसअघि विश्वासको मत लिँदा भट्टलाई नेपाली काँग्रेसले मतदान नगरी तटस्थ बसेको थियो। हाल ५२ सदस्य रहेको सुदुरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादीका १३ र काँग्रेसका १२ सांसद छन्।
प्रतिपक्षी एमालेसँग १० सांसद छन् भने साना दलका २ सांसद छन्। यसअघि विश्वासको मत लिँदा मुख्यमन्त्री भट्टले ३० मत पाएका थिए। तर, काँग्रेसले उनलाई मत नदिई तटस्थ बसेको थियो। गठबन्धन सरकारको ठूलो दल काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको छ भने माओवादीले सुदुरपश्चिम, कर्णाली र लुम्बिनीसमेत गरी तीनवटा प्रदेशमा मुख्यमन्त्री पाएको छ।