काठमाण्डौ। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज शुक्रवार नियुक्त भएका १६ मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
यस्तै आजै नियुक्त भएका दुई राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गएको असार २९ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गर्नुभएको हो ।