बाजुरा। बाजुरामा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । मंगलबार राति नेपाली कांग्रेसको सम्पन्न मतदानपश्चात मतदानस्थल रहेको जिल्ला समन्वय समिति अगाडि झडप भएको हो।
कांग्रेस कार्यकर्ताहरू मतगणना स्थलमा जान लाग्दा प्रहरीले रोक्न खोज्दा मंगलबार राति झडप भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र कांग्रेस कार्यकर्ताबीचको झडपमा केही घाइतेसमेत भएका थिए । झडपको स्थित बनेपछि मंगलबार रातिदेखि सुरु हुने भनिएको मतगणना सुरु हुन सकेको छैन ।
मंगलबार बेलुकी ६ बजे मतदान सकिएपश्चात राति ११ बजे देखि मतगणना सुरु हुने भनिए तापनि निर्वाचन समितिको बैठक बस्ने सल्लाह हुँदै गर्दा विवाद चुलिएको थियो। असोज १७ गते देखि सुरु भएको चुनावी माहोल तात्दै जाँदा असोज १८ गते मात्र मतदान भएको थियो । प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले झडप नभएर सामान्य ठेलमेल भएको बताए ।
कांग्रेसको जिल्ला अधिवेशनमा सभापति पदका लागि कविराज पण्डित, रामसिंह रावल र चक्र शाहीबीच प्रतिस्पर्धा भइरहेको छ । जिल्ला अधिवेशनमा कांग्रेसका १ हजार २१२ मध्ये १ हजार २०५ मत खसेको छ । सभापतिमा तीन जनाबीच कडा प्रतिस्पर्धा भएको कांग्रेस कार्यकर्ताहरूले जनाएका छन् ।