बैतडी। बैतडीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । बैतडीको डिलाशैनी गाउँपालिका ५ खालीबाटाका २७ बर्षीय महेश लुहारको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै चट्याङ लागेर ३ जना घाइते पनि भएका छन् । घाइते हुनेमा मृतकका दाजु अम्बे लुहार, मृतकका भिनाजु डिलाशैनी ३ का हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखरका दीपक महर रहेका छन् । सोमबार साँझ ६ बजेतिर डिलाशैनी ७ स्वाखानीबाट भैंसी किनेर ल्याउँदै गर्दा परेको चट्याङले ७० हजारमा किनेको भैंसी समेत मरेको स्थानीय मनिराम भुलले बताए। मृतक लुहारका श्रीमति र एक छोरा छन् । घटनाको बिषयमा जानकारी आएपछि गोकुलेश्वर प्रहरीचौकीबाट अहिले प्रहरीको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।