बैतडी। जिल्ला अस्पताल बैतडीमा दैनिक रुपमा स्क्रब टाइफसका बिरामी फेला पर्न थालेका छन्। अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक दुई जनामा स्क्रब टाइफसको संक्रमण देखिन थालेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए।
उनले भने, ‘पछिल्लो केही दिनदेखि अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक एक दुई जनामा स्क्रब टाइफस पोजेटिभ देखिन थालेको छ।’ पछिल्लो समय दिन प्रतिदिन यहाँ स्क्रब टाइफसका बिरामी देखिन थालेपछि संक्रमणको जोखिम बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वशन्तराज जोशीले बताए।
अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा स्क्रब टाइफसको परीक्षण गरिरहेको छ। ‘केही स्क्रब टाइफसका बिरामीलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था रहेको छ‚’ उनले भने, ‘दैनिक रुपमा नै देखिनुले यसको जोखिम निकै बढी देखिएको छ। यसबाट बच्न जरुरी छ।’ जिल्ला अस्पतालमा बढीजसो भाइरल ज्वरोका बिरामीहरू उपचारका लागि आउने गरेका छन्।
अस्पतालका सूचना अधिकारी पन्तका अनुसार विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यस वर्ष स्क्रब टाइफसका बिरामीको संख्या बढेको छ। गत साउनदेखि हालसम्म जिल्लामा ४५ जनामा संक्रमण देखिसकेको छ। ‘वर्षा यामको सुरुबाटै बिरामीको संख्या बढेको छ,’ उनले भने‚ ‘साउनदेखि हालसम्म ४५ जनामा स्क्रब टाइफस पुष्टि भइसकेको छ।’ जिल्लाका सबै स्थानीय तहबाट आएका बिरामीमा स्क्रब टाइफस देखिने गरेको छ। वर्षातमा किर्नालगायतका किराहरूले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामीहरू पनि देखिने गरेका अस्पतालका प्रमुख डा. जोशीले बताए।