बैतडी। बैतडीमा गएको ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको पालिका अधिवेशनले अधिकांश स्थानीय तहमा युवा नेतृत्व चयन गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिकाको सभापतिमा भुवनराज भट्ट विजयी भएका छन् ।
दशरथचन्द नगरपालिका-१ का वडा अध्यक्षसमेत रहेका भट्टले युवाहरूलाई नेपाली कांग्रेसमा आवद्ध गराउन आफू क्रियाशील रहने बताए । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएको र यसमा युवाको आकर्षण बढाउन आफ्नो भूमिका रहने उनले बताए। अखण्ड सुदूरपश्चिमको आन्दोलनबाट चर्चा आएका जयानन्द जोशी (जयराज) पनि नेपाली कांग्रेस डिलाशैनीको सभापति चयन भएका छन्।
पार्टीलाई बलियो बनाउन आफूले भरपूर प्रयास गर्ने उनले बताए। राजनीतिमा युवाहरूको चरम निराशा रहेको र त्यो निराशा चिर्नका लागि आफूले पहल गर्ने उनले बताए। यस्तै, जिल्लाको पाटन नगरपालिकाको सभापतिमा युवा मानबहादुर ऐर विजयी भएका छन् । विभिन्न संघसंस्थाहरूमा लामो समयसम्म काम गरेका ऐरले पार्टीलाई जीवन्त बनाउन आफूले पहल गर्ने बताए ।
जिल्लाको पुर्चौंडी नगरपालिकाको सभापतिमा पनि युवा नेता गणेश गडाल चयन भएका छन् । पुर्चौंडी नगरपालिका – १ का वडा अध्यक्षसमेत रहेका गडालले पनि आफूले पार्टीलाई बलियो बनाउने दाबी गरे । जिल्लाको शिवनाथ गाउँपालिका सभापति युवा नेता हीरा चन्द चयन भएका छन् । जिल्लाका अधिकांश ठाउँमा युवा नेतृत्व आएकाले यसले कांग्रेसलाई फाइदा हुने शिवनाथ गाउँपालिकाका अध्यक्षसमेत रहेका कांग्रेस बैतडीका युवा नेता कर्णसिंह साउँदले बताए । पालिका अधिवेशनबाट आएको नेतृत्वले कांग्रेसमा युवाहरूको आकर्षण बढेको देखाएको उनले दाबी गरे ।