कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई तीन सय शैयाको बनाउन प्रकृया अघि बढाएको छ ।
प्रदेशको मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले सेती प्रादेशिकलाई ३ सय शैया बनाउन विस्तृत परियोजना अध्ययन (डीपीआर) प्रतिवेदन तयार गरी त्यसको अनुमानित लागत, डिजाईन र टेण्डरका लागि समेत गरी एक करोड रुपैया स्वीकृत गरेको छ ।
प्रदेश सरकारकी प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सेती प्रादेशिक अस्पताललाई तीन सय शैयाको बनाउन प्रकृया थालिएको जानकरी दिईन्। प्रवक्ता जोशीका अनुसार मन्त्री परिषद्को बैठकले सुदूर पश्चिम प्रदेश लोक सेवा आयोगको २०७७/७८ को वार्षिक प्रतिबेदन प्रदेश सभामा पेश गर्ने निर्णय समेत गरेको छ ।
त्यसैगरी प्रदेश उच्च शिक्षाको संभाव्यता अध्ययनका लागि गठन भएको कार्यदललाई समेत बैठकले पूर्णता दिएको छ। प्राविधिक शिक्षाबीद डा. खेमराज जोशीको संयोजकत्वमा नौ सदस्यीय कार्यदलले आजको बैठकबाट पूर्णता पाएको छ। त्यसैगरी मन्त्री परिषद्को बैठकले सुदूरपश्चिमको डोटी, डडेल्धुरा र कञ्चनपुरमा प्रदेश लेखा ईकाई कार्यालय गठन गर्ने र तीन वटै कार्यालयमा ५/५ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।