कञ्चनपुर। यस वर्ष कञ्चनपुरमा धान उत्पादन बढ्ने तथा वृद्धि हुने अनुमान गरिएको छ । कञ्चनपुरमा उन्नत जातका बीउको प्रयोग र नियमित वर्षाका कारण धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो ।
‘यो वर्ष कम्तीमा १० देखि १५ प्रतिशतले धानको उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख दिलबहादुर बिष्टले जानकारी दिए । उनले भने ‘सिड रिप्लेसमेन्ट (नयाँ बीउको प्रयोग) ले उत्पादनमा ठूलो सहयोग पुर्याएको छ ।’ विगतमा चार/पाँच वर्षसम्म एउटै बीउ लगाउने गरिन्थ्यो । अहिले कृषकहरूले नियमित रूपमा उन्नत जातका बीउको प्रयोग गरिएको हो उनले भने।
यस पटक धानखेतीमा रोग कीराको प्रकोप पनि देखिएन । उन्नत जातको बीउ भएकै कारण रोग कीरा नलागेको बिष्ट बताउँछन् । ‘बीउ परिवर्तन गरिरहे रोग कीरा लाग्दैन,’ उनले भने, ‘रोग कीरा नलागे उत्पादन आफैं वृद्धि हुन्छ ।’ ज्ञान केन्द्रका अनुसार केही वर्षयता उन्नत जातको बीउको प्रयोग बढेको छ ।
अहिले कृषकहरूले हर्दीनाथ, सुक्खाको १ देखि ४ सम्म, राधा–४, साँवा मन्सुलीलगायत उन्नत जातका बीउको प्रयोग गरिरहेका छन् । कृषकहरूले यी जातहरूलाई निकै रुचाएका पनि छन् । सुक्खा क्षेत्रदेखि पानी जम्ने ठाउँसम्मका लागि सबै जातका बीउहरू उपलब्ध भएको कृषि ज्ञान केन्द्रका प्रमुख बिष्टले बताए । गत वर्ष कञ्चनपुरमा धानको उत्पादन ३ दशमलव ९ मेट्रिक टन प्रतिहेक्टर थियो । जुन हालसम्मकै उच्च हो ।
यस पटक ४ मेट्रिक टन प्रतिहेक्टर नाघ्ने अनुमान गरिएको छ । जिल्लाभरिमा ४८ हजार ६ सय हेक्टरमा धानखेती गरिन्छ । यस वर्ष पनि गत वर्षझैं कृषकहरूले समयमै रासायनिक मल पाउन सकेनन् । मलका लागि कृषकहरू दिनहुँ कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको गोदाममा धाउने गरेका थिए । रोपाइँ लगाउने बेलादेखि धान पसाउने बेलासम्म सहज ढंगले कहिल्यै रासायनिक मल पाएनन् । समयमै मल पाउन सकेको भए अझ राम्रो उत्पादन हुन सक्ने कृषि प्राविधिकहरू बताउँछन् । कञ्चनपुरमा अहिले पनि बीउको स्रोत केन्द्र छैन ।