बैतडी। बैतडीमा विपद् प्रतिकार्यका लागि समुदायका नागरिक जागरुक बन्न थालेका छन् । बैतडीमा विपद्बबाट हुन सक्ने सम्भावित जोखिम रोक्नका लागि समुदायका नागरिक जागरुक बन्न थालेका हुन् । विपद् प्रतिकार्य सीप हाँसिल गरेर उनीहरु समुदायमा हुन सक्ने विभिन्न विपदको जोखिमबाट बच्नका लागि प्रयास गरिरहेका हुन् ।
विपद् प्रतिकार्यका लागि विभिन्न सीपहरु सिकेर समुदायमा सचेतना फैलाउने गरेको पञ्चेश्वरका गौरव सार्कीले जानकारी दिए । उनले भने ‘हामीले नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना लगायतको सहयोगमा विपद्बाट कसरी बच्ने भन्ने सीप सिकेका छौं । यसले हामीलाई समुदायमा केही समस्या भएमा सहयोग पुग्ने विश्वास गरेका छौं ।’
नेपाल रेडक्रस सोसाइटीले पश्चिम विपद् पूर्वतयारी परियोजना अन्तर्गत मेलौली र पञ्चेश्वरका २४ जनालाई विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिम दिएको कार्यक्रम संयोजक गोविन्द पन्तले जानकारी दिए। उनले भने ‘हामीले स्थानीयहरुले बाढी,पहिरो, आगलागि भएको बेला कसरी उद्धार गर्ने, अरुलाई कसरी बचाउने भन्ने बिषयमा तालिम दिएका छौं । स्थानीयस्तर विपद् प्रतिकार्यका लागि क्षमता विस्तारका लागि यो तालिम दिएका छौं ।’