धनगढी। आइतबार बिहान धनगढीको नवजीवन अस्पतालमा मत्युवरण गरेकी सुत्केरीको शव आफन्तले बुझेका छन्। मंगलबार अपराह्न अस्पताल प्रसासन र आफन्तबीच सहमति जुटेपछि आफन्तले ३ दिनपछि कल्पना सिंह ठकुरीको शव बुझेका हुन्।
अस्पतालले क्षतिपूर्ति दिने, शिशुको भरणपोषण गर्ने र मृतकको नाममा प्रतिष्ठान स्थापना गर्न सहमत भएपछि शव उठाइएको मृतक कल्पनाका देवर दीपेन्द्र मल्लले जानकारी दिए। उनले भने, उहाँहरुले हाम्रो माग पुरा गर्छौ भनेपछि शव उठायौँ, अन्त्येष्टिका लागि धनगढीको बडहरामा ल्याइएको छ ।
डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो। उनको गर्भमा रहेको बच्चालाई भ्याकुम प्रयोग गरेर निकालिएपछि रक्तस्राव भएको अस्पतालले जनाएको थियो। तर आफन्तले दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै शव नउठाउने अडान लिँदै आएका थिए।मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण अनाहकमा ज्यान गुमाउनु परेको भन्दै ३ दिनसम्म पनि शव उठाउन मानेका थिएनन् ।