धनगढी। नेकपा माओवादी केन्द्रले देशभर निर्वाचन आयोग गठन गरेको छ । निर्वाचन आयोगमार्फत वडा तह देखी केन्द्रसम्म आन्तरिक नेतृत्व चयन गर्ने धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष विष्णुपुकार श्रेष्ठले अहिले देश भरी नै समितिहरू निर्माण र निर्वाचन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । श्रेष्ठले पार्टीको विधानमा भएको व्यवस्था अनुसार करिब २ हप्ता अघि निर्वाचन आयोग गठन गरेको र पार्टीले आयोगकोलाई पूर्णता दिएपछि पूर्ण बैठक बसेर कार्य सम्पादन नियमावली, निर्वाचन नियमावली र निर्वाचन आचारसंहिता २०७८ पारित गरिसकेको जानकारी दिए।
उनले आसन्न निर्वाचनलाई मध्यनजर गरेर १५ गतेसम्म सम्पूर्ण वडा, गाउँपालिका, नगरपालिका, प्रदेश स्तरीय निर्वाचन समिति गठन गरिसक्ने जानकारी दिए ।नेकपा माओवादी केन्द्रले गठन गरेको निर्वाचन आयोगले देशभरबाट खुल्ला र समावेशी विधिबाट पार्टीको निर्वाचन भएर २ लाख ८५ हजार भन्दा बढी व्यक्तिहरू निर्वाचित हुने जनाएको छ। प्रदेश नम्बर १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न भइसकेको आयोगले जनाएको छ।
पार्टीको निर्वाचन सम्पन्न गर्न करिब ४० हजार स्वयंसेवक परिचालन गरिने जनाएको छ । पार्टी इतिहासमै माओवादी केन्द्रले स्वतन्त्र र स्वायत्त आयोग गठन गरेर पहिलो पटक आन्तरिक निर्वाचन सम्पन्न गरिरहेको बताउँदै अध्यक्ष श्रेष्ठले सबै तहमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र ५ प्रतिशत मुस्लिमको अनिवार्य सहभागिता गराइने व्यवस्था गरिएको जानकारी दिए ।साथै नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा डा। केदार चन्द्र भट्टको नेतृत्वमा प्रदेश निर्वाचन समितिको प्रथम बैठक समेत बसेको जानकारी दिएको छ ।