धनगढी। धनगढी–दिपायल द्रुतमार्ग (फास्टट्र्याक) निर्माणको प्रक्रिया सुरु भएको डेढ दशकपछि त्यसअन्तर्गत पर्ने धनगढी–स्याउले खण्डमा कालोपत्रे निर्माणको काम अघि बढेको छ।
धनगढीको हसनपुर सामुदायिक प्रहरी सेवा केन्द्रदेखि पूर्वपश्चिम राजमार्गको स्याउले हुँदै अलि अगाडिसम्म १३ दशमलव ४ किलोमिटरमा कालोपत्रेको काम सुरु हो। सडकको दुवैतर्फ नाली बनाउने काम भइरहेको छ । ३० महिनाभित्र काम पूरा गर्ने सर्तमा खड्का कृष्ण नारायणम् जेभीले १८ करोड ५१ लख रकममा जेठ तेस्रो साता ठेक्का सम्झौता गरेको कम्पनीका इन्जिनियर सुमित अर्यालले बताए ।
धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडक योजनाअन्तर्गत मुख्य सडक मार्ग खुटिया–दिपायल हो। खुटिया–दिपायल २०६४ मा औपचारिक रूपमा सर्भे भई ट्र्याक खोल्न सुरु भएको थियो । त्यसबेला खुटियादेखि दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भए पनि पछि पूर्वपश्चिम राजमार्गदेखि धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुतमार्ग बनाउने निर्णय भएको थियो ।
हसनपुर स्याउले खण्डमा निर्माण सुरु गरिएको सडकको चौडाइबारे भने अन्योल छ। संघीय सरकार सडक विभागअन्तर्गत खुटिया–दिपायल फास्टट्र्याक आयोजनाले उक्त खण्डमा काम गराइरहेको छ । ठेक्का सम्झौतामा साढे ५ मिटर चौडाइ उल्लेख गरिएको भए पनि स्थानीय बासिन्दाको दबाबपछि विभागको मौखिक निर्देशनका आधारमा ७ मिटर चौडाइ पिच गर्ने प्रक्रियाका लागि ठेकेदार पक्षसँग लेखापढी गरिरहेको आयोजनाका इन्जिनियर खगेन्द्रबहादुर शाहीले बताए।
‘ठेकेदार कम्पनी मञ्जुर हुनुप¥यो । हामीले भेरियसन गरी पत्राचार गरिसकेका छौं,’ इन्जिनियर शाहीले भने, ‘५ वर्षअघि नै भएको डीपीआरमा साढे ५ मिटर चौडाइ नै राखिएकाले समस्या भएको हो । मैले इस्टिमेट गरेर पठाउने बेला ७ मिटरकै पठाएको भए पनि टेन्डर गर्ने बेला विभागले काटेको हो ।’ सडकको कुल चौडाइ भने ९ मिटर छ । पूर्वपश्चिम राजमार्गमा पर्ने स्याउलेदेखि धनगढी हसनपुर खण्डको लम्बाइ १० किलोमिटर छ । डीपीआर गर्ने बेला यस खण्डलाई सहरी मार्गका रूपमा राखिएको थिएन । सहरी मार्गमा पर्ने सडक मात्र साढे ५ मिटरभन्दा माथिको चौडाइमा हुने शाहीले बताए। यो सडक प्रिमिक्स अक्सासफाल्ट गुणस्तरको हुनेछ।
पछिल्लो समयमा सहरमा बन्ने सडक अक्सफाल्ट गुणस्तरका हुन्। इन्जिनियरहरूका अनुसार धनगढी अत्तरिया ६ लेनको सडक अक्सफाल्ट गुणस्तरको हो । प्रिमिक्स अक्सफाल्ट गुणस्तर अक्सफाल्टभन्दा न्यून गुणस्तरको कार्य प्रविधि हो। ठेकेदार कम्पनीका इन्जिनियर अर्यालका अनुसार स्याउले–हसनपुर खण्डमा ३ वटा कल्भर्ट र १६ वटा ह्युमपाइप कल्भर्ट निर्माण गरिने छन। यसैगरी, दिपायलदेखि धनगढीतिर गरिने ९.५ किलोमिटर कालोपत्रेको ठेक्का सम्झौता पनि भएको छ। आश्रय प्रशंसा दुनिला जेभीले पाएको ठेक्कामा ३० महिनामा निर्माण गरिसक्ने गरी भ्याटबाहेक १४ करोडमा सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ।आयोजनाको कुल ९२ किलोमिटरमध्ये चालु आर्थिक वर्षमा थप २७.५ किलोमिटर खण्ड -डोटी खण्डमा २० र कैलाली खण्डमा ७.५ किलोमिटर० मा कालोपत्रेका लागि टेन्डर गर्न लागिएको आयोजना कार्यालयले जनाएको छ।