कञ्चनपुर। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री तारालामा तामाङ्गको कन्चनपुर पुनर्वासस्थित निवासको तस्बिर सार्बजनिक गरिएको छ।
सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको तस्बीर नेकपा(एकीकृत समाजवादी) का नेता माधव पन्तले आफ्नो फेसबुकमार्फत पोष्ट गरेका छन् । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री तामाङ्ग अर्थमन्त्री भएपछि नेकपा(एकीकृत समाजवादी)का नेता माधव पन्तले आफ्नो फेसबुकबाट मन्त्री तामाङ्गको घर सार्वजनिक गरेका हुन् ।कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ (क) बाट प्रदेश साँसद बनेका उनी यही असोज १ गते सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ नियुक्त भएका हुन् । समाजवादीका युवा नेता पन्तले एकीकृत समाजवादीका जिल्ला अध्यक्ष तामाङ्ग सहकारी आन्दोलनका अगुवा हुन् । नेकपा(एमाले)छाडेर समाजवादी बनेका उनको घर टायलले छाएको घर र गोठमा बाँधिएको भैसीका तस्बिर फेसबुकमा राखिएका छन् । समाजवादीका युवा नेता पन्तले तामाङ्गको घर फेसबुकमा राखेर उनको सरल जीवनशैलीको प्रशंसा गरेका छन् । ‘वहाँको बसाई र सरल जीवन शैलीले हाम्रो मन छोयो, यो कम्युनिष्ट व्यवहार, शैली र आचरण हामी सवैका लागि प्रेरणा बनोस’ पन्तले फेसबुकमा भनेका छन्।पन्तले फेसबुक स्टाटसमाको सुरुमै अर्थमन्त्री, घर अनि भैसी भनेर उल्लेख गरेका छन् । त्यसपछि उनलाई समाजवादीका कञ्चनपुर अध्यक्ष, सहकारी आन्दोलनका नेता भनेर सम्बोधन गरिएको छ । पन्तले सार्वजनिक तस्बिर अर्थमन्त्री तामाङ्ग भैसी गोठ नजिक पराल छेउमा बसेका छन् । तामाङ्गसंगै समाजवादीका नेताहरुले उनको घरमा सामूहिक तस्बिर पनि खिचेका छन् । यस्तै फेसबुकमा तस्बीर सार्बजनिक गरिएपछि अधिकाँसले जीवनशैलीको प्रशंसा गरेका छन् भने कसैले मन्त्री बनेपछिको कार्यशैली के कस्तो गर्छन भन्ने जिज्ञासा राखेका छन् । फेसबुकमा कमेन्ट गर्दै बल थापाले लेखेका छन् मन्त्री भएपछिको जिवनशैलीको देख्नुपर्यो अहिलेको होईन, यस्तै तिवारी टिकारामले जनताको जिवनशैली कति मार्मिक ,सरल अनि पिडादायी छ । उनका घरमा आँसु पुछ्दै गरेको अनि घाउमा मलम लगाउदै गरेको तस्बिर कहिले सार्बजनिक हुन्छन होला भनेर लेखेका छन्। यस्तै राजेन्द्र जोशीले फेसबुक कमेन्टमा लेखेका छन्,हरेक सफल मानिसको बिगत एकदमै साधारण हुन्छ तर प्रगती पश्चात् टिप्पणीकारहरुले बर्तमानप्रती टिप्पणी गर्न विगतको खोइरो खन्ने गर्छन।यस्तै, निर्देशन त्रिपाठीले फोटो मात्रै हैन व्यबहारमा पनि उतारौ भनेका छन् । बुद्धि प्रसाद शर्मा लेख्छन्, मन्त्री ज्यु वास्तवमै मन्त्री हुन लायक हुनुहुन्छ। र गोपी सिँह सोपले माननीय अर्थ मन्त्री तारा लामा तामाङ सर, यसैलाई भनिन्छ सादा जिवन उच्च बिचार स्यालुट छ सर भनेका छन् । मन्त्री तारालामा तामाङ्ग २०५४ मा कलिलो उमेरमै तत्कालिन कालिका गाउँ विकास समितिको अध्यक्ष भएका थिए । उनी २०७४ को आम निर्वाचनबाट प्रदेश साँसद निर्वाचित भएका थिए । त्यस अघि उनी २०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचनमा तत्कालिन निर्वाचन क्षेत्र नं. १ बाट पराजित भएका थिए । विद्यार्थीदेखि एमाले राजनीतिमा आएका उनी सरल स्वभाव र इमान्दार नेताका रुपमा चिनिन्छन् । एमालेमा थोरै बोल्ने नेताहरुमा तामाङ्ग पनि हुन् ।