धनगढी। सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष केशरबहादुर साउँदले पदबाट राजीनामा दिएका छन्। उनले मुख्यमन्त्री त्रिलोचन भट्टलाई सम्बोधन गरेर शुक्रबार राजीनामा पत्र पठाएका हुन्।
मुख्यमन्त्री भट्टका निजी सचिव कृष्णराज जोशीले इमेलबाट राजीनामा आएको बताउँदै सक्कल पत्र आएपछि राजीनमाबारे छलफल गरिने जानकारी दिए। एमालेसम्बद्ध मन्त्रीहरू प्रदेश सरकारबाट बाहिरिएपछि प्रदेश सरकारलाई काम गर्न सहजहोस् भनेर राजीनामा दिएको र राजीनामा पत्रको सक्कल नै कुरियरबाट पठाएको बताइएको छ ।
नेकपा एमालेको विभाजनपश्चात आफू एमालेमै रहेको उल्लेख गर्दै नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् । हाल सुदूरपश्चिममा माओवादी केन्द्रको नेतृत्वमा नेकपा (एस) सहितको संयुक्त सरकार छ । साउँदलाई गत पुस १३ गते प्रदेशको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।