बैतडी। जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी छन् । २५ जनाको क्षमता भएको कारागारमा अहिले ७५ कैदीबन्दी राखिएका छन्।
जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । कारागार परिसरमा दुईवटा टेन्ट राखिएका छन् । कोठाहरूमा पनि खाटमाथि खाट राखेर बसोबासको व्यवस्था मिलाइएको छ ।
कैदीबन्दीहरूलाई बसोबासको समस्या भएपछि कारागार परिसरमा टेन्ट राखेर बसोबासको व्यवस्था मिलाएको जेलर तिवारीले बताए । पुरानो भवन पनि जीर्ण भइसकेकाले कैदीबन्दीहरूलाई बसोबासका लागि निकै समस्या भएको हो । जिल्ला कारागारमा महिला कैदीबन्दी आएमा डडेलधुरा पठाउनुपर्ने बाध्यता छ ।
जिल्ला कारागारमा बसोबासको उचित व्यवस्था नहुँदा कैदीबन्दीले बेलाबेलामा गुनासोसमेत गर्ने गरेका छन् । विसं २०४० मा निर्माण गरिएको कारागार भवनलाई बेलाबेलामा मर्मत गरिएको भए पनि कोठा थपिएको छैन । एकातिर भवनमा कोठाको अभाव छ भने अर्कोतिर कैदीबन्दी बढ्दै जाँदा बसोबासको व्यवस्था मिलाउन गाह्रो भइरहेको जनाइएको छ ।