दार्चुला। दार्चुलाको तुइन घटनाका विषयमा नेपालले दुई साताअघि गरेको पत्राचारको भारतले अझै जवाफ दिएको छैन । महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को अमानवीय व्यवहारका कारण नेपाली युवा जयसिंह धामी बेपत्ता भएका थिए ।
दार्चुलाको व्यास गाउँपालिका–२ का धामी बेपत्ता भएपछि भारत सरकारलाई परराष्ट्र मन्त्रालयले दुई साताअघि ‘कूटनीतिक नोट’ पठाएको थियो । तर बुधबारसम्म भारतका तर्फबाट त्यसबारे कुनै जानकारी नआएको परराष्ट्र स्रोतले जानकारी दिएको छ । सरकारले भारतलाई पठाएको कूटनीतिक नोटमा जयसिंह धामी बेपत्ता हुनुमा एसएसबीको संलग्नता पुष्टि भएको किटान गरिएको थियो ।
गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदन उद्धृत गर्दै परराष्ट्रले एसएसबीको ‘उपस्थिति र संलग्नतामा’ तुइन घटना भएको जानकारी भारतीय पक्षलाई दिएको थियो । घटनाबारे अनुसन्धान गर्न नेपाल सरकार गृह मन्त्रालयद्वारा गठित समितिले प्रत्यक्षदर्शीको भनाइ, परिस्थिति र तथ्यहरूका आधारमा उनी बेपत्ता भएको विषयमा बुझाएको प्रतिवेदनमा उक्त घटना सशस्त्र सीमा बल ९एसएसबी० को उपस्थिति र संलग्नतामा भएको परराष्ट्र मन्त्रालय जानकारी गराउँदछ,’ नेपालले पठाएको कूटनीतिक नोटमा उल्लेख छ ।
नोटमा ‘घटनामा एसएसबीको संलग्नताबारे विस्तृत अनुसन्धान गरी घटनामा संलग्नलाई आवश्यक कानुनी कारबाही गर्न तथा पीडितको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन’ आग्रह गरिएको छ । भारतीय पक्षबाट अहिलेसम्म घटनाबारे अनुसन्धान भए नभएको जानकारी दिइएको छैन । काठमाडौंस्थित भारतीय दूतावासले पनि यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।
पाँच वर्षमा ५ कूटनीतिक नोट, भारतले जवाफै दिएन-नयाँ दिल्लीमा भदौ १७ मा आयोजित भारतीय विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्चीले दार्चुलाको तुइन घटनाबारे नेपाल सरकारले कुनै जानकारी नगराएकाले त्यसबारे भारतले केही नबोल्ने बताएका थिए । उनले यो विषयमा मिडियाबाट केही सुनेको तर औपचारिक रूपमा कुनै जानकारी नआएको प्रतिक्रिया दिएका थिए। तर नेपाल सरकारले छानबिन समितिको प्रतिवेदनको निचोडसहित लेखेको कूटनीतिक पत्रबारे भने भारतले बेवास्ता गरेको हो । परराष्ट्रविद् दिनेश भट्टराईले कूटनीतिक नोट पठाएपछि त्यसको जवाफ ढिलोचाँडो आउने सक्ने बताए ।
यस्तै, महाकाली नदी वारि नेपालको दार्चुलाका पाँच स्थानीय तह हुँदै भारतीय हेलिकोप्टर निरन्तर उडाइएको विषयमा पनि परराष्ट्रले भारतलाई कूटनीतिक नोट पठाएको थियो । जसको जवाफ पनि अझै दिइएको छैन । पूर्वराजदूत निरञ्जन थापा अमानवीय घटनाका विषयमा भारतबाट जवाफ नआएपछि कूटनीतिक पहललाई थप अघि बढाउनुपर्ने बताउछन् । ‘कूटनीतिक पहलको विकल्प पनि कूटनीतिक पहल नै हो । तर पहल गर्दा अब अर्को चरणमा जानुपर्छ,’ उनले भने, लगातारको कूटनीतिक पहलले नभए संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय कानुनलगायतको सहयोग लिने बाटा पनि खुला छन् ।
यसअघि भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेको विषयमा २०७७ वैशाख अन्तिम साता कूटनीतिक नोट पठाएको थियो । उक्त नोटको पनि भारतले हालसम्म जवाफ दिएको छैन । दार्चुलाको तुइन र हेलिकोप्टरको अनधिकृत उडानबारे परराष्ट्र मन्त्रालयले भारत सरकारलाई पठाएको ‘कूटनीतिक नोट’ को फलोअपको जिम्मेवारी नयाँदिल्लीस्थत नेपाली दूतावासको हो। दूतावासलाई भने परराष्ट्रले औपचारिक जानकारी नै पठाएको छैन । मन्त्रालयले काठमाडौंस्थित भारतीय दूतावासमार्फत भारतलाई कूटनीतिक नोट पठाएको थियो । ‘परराष्ट्रले कूटनीतिक नोट पठाएको पनि हामीले मिडियाबाटै सुनेका हौं,’ दूतावास स्रोतले भन्यो, ‘हामीलाई औपचारिक केही जानकारी र निर्देशन पठाइएको छैन ।’ त्यस्ता पत्राचार गर्दा सम्बन्धित देशस्थित आफ्नो दूतावासलाई जानकारी दिने कूटनीतिमा चलन नै हो । तर फलोअपको जिम्मेवारी हुने जानकारी केही नपठाउनुले दूतावासका अधिकारीहरू निराश छन् ।