बझाङ। बझाङ जिल्लाका ग्रामिण सडकहरुमा चल्ने साना सवारीहरुले चर्को भाडा असुली गर्ने गरेको गुनासो बढेको छ । सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा भन्दा बझाङमा स्थानिय भाडा दर बढी रहेको भएपनि जिल्लाका जीप व्यवसायीहरुले स्थानिय प्रशासनले तोकेको भाडा दर पालना नगरेको पाइएको छ।
बझाङको बागथला बिजगडा, तमैल खप्तडछान्ना, मौरीबगर व्याँसी सुर्मा, चैनपुर सुर्मा, सडक खण्डमा जिप व्यवसायीहरुले मनपरी भाडा लिन थालेको यात्रुहरुको गुनासो छ। यस्तै चैनपुर रुपातोला तल्कोट, चैनपुर मष्टा, चैनपुर कैलास लगायतका ग्रामिण सडकमा चल्ने जीपहरुले समेत चर्को भाडा असुल्ने गरेका छन्।
कतिपय चालकहरुले चर्को भाडा लिएर पनि यात्रुहरुलाई समयमा गन्तव्यमा नपुर्याई विचबाटैमा छोड्ने र जीप रिर्जब गरे मात्र जाने भाडादरमा जान नमान्ने गरेको गुनासो समेत आउन थालेका छन। स्थानिय प्रशासनले बझाङ जिल्ला भित्र चल्ने गाडीको हकमा पक्की बाटोमा प्रतिकिलोमिटर ६.२५ रुपैया र कच्ची बाटोमा १० रुपैया भाडा दर तोकेको छ। तर बझाङमा भने तोकिएको भन्दा दोब्बर बढी सम्म भाडा लिने गरेको पाइएको छ। चैनपुर देखी रुवातोलासम्मको १६ किलोमिटर सडकमा ४सय देखी ५ सय सम्म भाडा असुल्ने गरेको यात्रुहरुले बताउदै आएका छन् ।
‘यात्रुहेरेर भाडा लिन्छन ।’ तलकोट गाँउपालिकाका स्थानीय शिव भण्डारीले भने, ‘गाडी पुरै भरिएको छ भने ४ सय नभए ५ देखि ६ सय सम्म पनि असुल्छन । आँउदा एउटा रेट हुन्छ, जाँदा अर्कै रेट हुन्छ ।’ यस्तै बागथला देखी बिजगडा सम्मको १७ किलोमिटरमा ६ सय सम्म भाडा असुल्ने गरेको बुङ्गल क्षेत्रका स्थानियको गुनासो छ । ‘बागथला बाट बिजगडा सम्मको भाडा १ सय ७० रुपैया हो तर उनीहरुले ५ सय देखि ६ सय सम्म लिने गरेका छन ।’ बुङ्गल नगरपालिकाका स्थानीय जनक विष्टले भने।
उनले त्यहाँ जिप चालकहरुको सिन्डिकेट कायमै रहेको र यात्रुले जिप संचालकहरुको तोकेको गाडीमा मात्र जानु पर्ने बाध्यता रहेको बताए । यस्तै दुर्गाथलीको मौरीबगरबाट दुर्गाथली गाँउपालिकाको कार्यालय सम्म करिब ६ किलोमिटरको भाडा दुई सय सम्म लिने गरेको स्थानीयको गुनासो छ । चर्को भाडा तिरेर मात्र यहाँ स्थानियले सहज ढंगले यात्रा गर्न पाएका छैनन। गाडी भरी यात्रु नभएमा जिपहरु अन्तिम गन्तव्य सम्ममा नजाने गरेको र यात्रुहरुसंग अभद्र व्यवहार समेत गर्ने गरेका छन।
‘तमैलदेखी गडरायसम्म १७ किलोमिटरको भाडा ९ सय ५० देखि हजार रुपैया सम्म असुल्छन ।’ खप्तडछान्ना गाँउपालिकाका मंगल खडकाले भने ‘भाडाको विषयमा विवाद गरेमा यात्रुलाई गाली गर्ने र हातपात समेत गर्ने गरेका छन । यहाँ जिपवालाको दादागिरीे बढेको छ।’ यस रुटमा जिप बुकिङ्क गर्दा यहीका गाडीहरु मात्र बुकिङ गर्नु पर्ने नियम जिप संचालकहरुले लगाएको उनले बताए । १७ किलोमिटरको दुरीमा बुकिङ्क गर्दा ५ देखि ७ हजार सम्म लिने गरेको र बाहिरका गाडी सस्तोमा बुकिङ्क गर्न खोजेमा विभिन्न बहानामा गाडी रोक्ने गरेको स्वयं जिपचालकहरु नै बताउछन ।
एक जना यातायात ब्यवसायिले भने’जिल्लामा सबै भन्दा बढी जिप रहेको बझाङ सार्वजनिक यातायात समितिले जिल्लाका धेरै ग्रामिण सडकहरुमा सिन्डीकेट लागु गरिरहेको र अन्य ब्यवसायिलाई रोडमा यात्रु पनि हाल्न दिदैनन । बुकिङ्क गरेर ल्याएको छ भने पनि सोधी खोजी गरेर दुख दिने गरेका बताए । यस्तै ग्रामिण रुटमा चल्ने गाडीले ट्राफिक नियमको वेवास्ता गर्दै सिटको क्षमता भन्दा बढी यात्रु बोक्ने, छतमा यात्रु हाल्ने र तिब्र गतिमा गाडी हाँक्ने गरेको स्थानियको गुनासो छ । यता प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिप चालकहरुको मनोमानीका विषयमा आफु कहाँ गुनासो आएको बताउदै केही दिन अघि जिप संचालकका प्रतिनिधीहरुलाई बोलाएर यसो नगर्न सचेत गराएको बताए । स्थानियको गुनासोका आधारमा विभिन्न ग्रामिण सडकहरुमा छड्के जाँच गर्ने व्यवस्था मिलाएको बताउदै उनले भने ‘अब मनपरी हुन दिन्नौ । नियम विपरीत काम गर्नेलाई कारबाही गर्ने तयारी गरिरहेका छौ ।’