धनगढी। कैलालीमा अटो रिक्सामाथि प्रहरीले निगरानी बढाएको छ। गौरीफन्टानाका हुँदै स्वदेश फर्किने नागरिकबाट अटो तथा ई-रिक्सा चालकले चर्को भाडा असुल्न थालेपछि कैलाली प्रहरीले निगरानी बढाएको छ।भारतबाट गौरीफन्टा नाका भएर नेपाल भित्रिने यात्रुहरुसंग अटोरिक्सा चालकहरुले चर्को भाडा असुल्न थालेपछि जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय कैलाली तथा मातहत संयुक्त प्रहरी टोलिले निगरानी बढाएको हो ।
यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज धनगढी २ स्थित त्रिनगर भन्सार कार्यालय देखी धनगढी बजार एरीयामा संचालनमा रहेका १ सय ५० अटोरिक्शा चालकलाई यात्रु भाडादर अनिवार्य रुपमा टांस्न लगाई सम्झाई बुझाई गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। अहिले रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा गएका सुदूरपश्चिमेलीहरु दसैँ तिहार नजिकिए सँगै घर फर्किन थालेका छन्।सोही मौका छोपी धनगढी उपमहानगरपालिका भित्र चल्ने अटो तथा ई-रिक्साले चर्को भाडा असुल्न थालेको गुनासो आएकाले निगरानी गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एस पी बिश्वराज अधिकारीले जानकारी दिए । यस्तै भारतबाट फर्कने नेपालीहरूबाट अटो तथा ई-रिक्साहरूले नाकाबाट बसपार्क सम्म पुर्याएको भाडा शुल्क चर्को लिने गरेको जनगुनासो आएपछि आफूहरूले पनी निगरानी बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले जानकारी दिए ।
उनका अनुसार त्रिनगर भन्सार क्षेत्रमा चल्ने सम्पूर्ण अटो तथा ई-रिक्सामा निर्धारित भाडा दर रेट लिस्ट यात्रुहरूले प्रस्ट रूपमा देखिने स्थानमा टाँस गर्न र चालकलाई उक्त भाडा दर कायम गर्न भनिएको प्रहरी निरीक्षक बोहराले जानकारी दिए ।साथै कुनै पनि अटो, ई-रिक्सा तथा सार्वजनिक सवारी साधनहरूले तोकिएको भाडा दर भन्दा बढी भाडा असुल गरेमा तुरुन्त १०३ वा ०९१-५२१६९९ मा टेलिफोन गर्न हुन जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले आग्रह गरेको छ ।