धनगढी। कर्मचारी छनोटमा मनोमानी गरेको भन्दै नेपाल बिद्युत कार्यालय सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियामा तालाबन्दी गरिएको छ । ठेकेदार मार्फत कर्मचारी छनोट गर्दा मनोमानी गरिएको भन्दै फारम भरेकाहरुले कार्यालयमा तालाबन्दी गरेका हुन।
सेवा करारमा कार्यरत कर्मचारी र युवा संघ कैलालीले संयुक्त रुपमा सोमबार दिउँसो कार्यालयमा तालाबन्दी गरेका हुन् । बिद्युत प्राबिधिकरणमा काम गर्न २ बर्षका लागि ठेक्का मार्फत कर्मचारी छनोट गर्न विज्ञापन आह्वान गरेको भएपनि कर्मचारी छनोट गर्ने ठेकेदारले मनोमानी कर्मचारी राखेको भन्दै फर्म भरेकाहरुले विरोध गरेका छन । विद्युत प्राविधिकरणले ठेकेदार ९८ जना कर्मचारी राख्न ठेक्का आह्वान गरेको थियो ।
तालाबन्दीमा सहभागी दिपक रानाले आफूले प्रक्रिया पुगाएर फर्म भरको भएपनि छनोट प्रक्रियामा सहभागि नै नगराई नयाँ कर्मचारी छनोट गरिएको भने । उनले भने, ‘म विगत २ बर्ष देखि बेलौरी वितरण केन्द्रमा प्राविधिकका रुपमा काम गरिरहेको थिए’ ‘पुरानो ठेकेदार संगको सम्झौता सकिएपछि नयाँ ठेकेदारले माग गरेको कर्मचारी छनोटका लागि फर्म भरेको थिए । यहाँ फर्म भरेको भएपनि आफ्नो छनोट प्रक्रियानै पुरा नगराई नयाँ कर्मचारी आफ्नो ठाउँमा पठाएका छन । नयाँ कर्मचारी कसरी छनोट भए । आफू पास फेल के भए भनेर किन जानकारी दिईएन् ।’ उनले पुरानो सम्झौता सकिएकाले आफ्नो जागिर गुमेकोमा आपत्ती नभएपनि नयाँ सम्झौताका लागि फर्म भर्दा अन्तरवार्ता, लिखित केही नगराई कसरी नयाँ कर्मचारी छनोट गरिए भनेर आफू अन्योलमा परेको बताए ।
प्रादेशिक कार्यालयसहित प्राधिकरण मातहतका निकायमा सेवा करारमा कार्यरत यसअघिका कर्मचारीलाई जानकारी समेत नदिएर आर्थिक असुली गर्दै मनलाग्दी किसिमले भर्ना गरेको उनीहरुको आरोप छ । यस्तै धनगढी वितरण केन्द्रमा सेवा करारमा प्राविधिक हेल्परका रुपमा कार्यरत समिर खड्काले पुराना कर्मचारीलाई जानकारी समेत नदिएर विद्युत प्राधिकरण र निर्माण व्यवसायीले जथाभावी रुपमा कर्मचारी भर्ना गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए ।‘काम सिकिसकेका पुराना कर्मचारीलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो माग हो तर प्राधिकरण र ठेकेदारले रकम असुली गर्दै निकटका व्यक्तिलाई भर्ना गरेर अनियमितता गरेका छन्,’ खड्काले भने, ‘फारम भर्ने सूचना समेत नदिएर हामीमाथि अन्याय गरिएको छ । यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ करार सेवाका लागि आह्वान गरिएको आवेदन फारम भर्दा समेत विभेद गरिएको उनीहरुको गुनासो छ ।
अनियमित तरिकाले फारमको शुल्क लिने काम समेत भएको भन्दै उनीहरुले समानता कायम गर्न माग गरेका छन् । नेपाल विद्युत प्राधिकरणले भने सेवा करारका कर्मचारी सम्झौता बमोजिम ठेक्का लिएका सम्बन्धित निर्माण व्यवसायीले भर्ना गर्ने भएकाले कार्यालयसँग खासै सरोकार नहुने जनाएको छ । प्रादेशिक कार्यालयका निमित्त प्रमुख मेघमणि गौतमले यसअघि दुई वर्षका लागि गरिएको ठेक्काको अवधि सकिएपछि डिलस मल्टी सेक्युरेटीसँग सम्झौता गरिएको बताउँदै कर्मचारी भर्ना पनि उसैले गरेको दाबी गरे । ‘कर्मचारी भर्ना गर्ने काम सम्बन्धित ठेकेदार कम्पनीकै हो । त्यसमा हाम्रो खासै भूमिका हुँदैन,’ गौतमले भने, ‘तर कार्यालयकै काममा अवरोध हुने गरी कार्य सम्पादन गरेको खण्डमा हामी नियमन गर्छौं ।’ अहिलेको विषयमा पनि डिलस मल्टी सेक्युरिटीसँग सोधेको उनले बताए । ‘मौखिक रुपमा नभए लिखित रुपमै सोध्छु,’ उनले भने । डिलस मल्टी सेक्युरिटीले प्रादेशिक कार्यालयसहित प्राधिकरणका अन्य कार्यालयका लागि झण्डै एक सय जना कर्मचारी करार सेवामा भर्ना गरेको बताइएको छ ।