डोटी। डोटी जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्रयाक करिब ३५ वर्षपछि जोडिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु ३ करोड ८३ लाखको लागतमा सो सडक निर्माण गरिएको थियो ।
बहुप्रतिक्षित बोगटान सडकको ट्रयाक आइतबार जोडिएपछि यहाँका नागरिकमा निकै खुसियाली छाएको छ । उक्त सडक खड्काकृष्ण, बङ्गलामुखी र पवन निर्माण कम्पनीले संयुक्तरुपमा निर्माण गरेका थिए । विसं २०४३ देखि सडक निर्माण सुरुवात भएको बताइएको छ । बडिकेदार गाउँपालिका–१ का रोजबहादुर कलेल ले भने, “वर्षौं पछि सडकको ट्रयाक जोडिएको छ, अब हामीले पनि घरैमा गाडी चढ्न पाउने भए, यो भन्दा अरु खुसी के नै होला र।”
बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले अगामी दिनमा सडकको स्तरोन्नतीका लागि गाउँपालिकाले लगानी गर्ने बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास योजना तोकिएकै समयमा निर्माण सम्पन्न गर्न पटक-पटक निर्देशन दिएका थिए । सो गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले भने, “मुख्यमन्त्रीज्यूले पनि तोकिएको समयमा काम नसके कारबाही गर्ने निर्देशन दिए, हामीले पनि पालिकाको तर्फबाट आवश्यक सहयोगसहित अनुगमनलाई तीव्र बनाएपछि काम सम्पन्न भएको हो ।”
प्रदेश सरकारको प्रदेश गौरवको सडकमा समेत समावेश भएको सहजपुर–बोगटान सडकको ट्रयाक जोडिएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताए । उनले भने, “कच्ची ट्र्याक जोडिएको छ, अब कालोपत्रेका लागि पहल गर्नुपर्छ ।” कैलालीको सहजपुर, विपीनगर, अत्तरकाँडा, सिमचौर, चवराचौतारा, गगुुडा, तिखात्तर, वासुदेवी, वायल, रानागाउँ हुँदै जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुर जोडिने उक्त सडकको ट्रयाक जोडिएपछि यहाँका नागरिकलाई आवागमनमा सहज भएको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए ।
उनले भने, “कच्ची ट्रयाक जोडिएको छ, यहाँका हजारौँ नागरिकलाई यातायात सुविधासहित राहत हुने भएको छ ।” उक्त सडक जोडिएपछि बोगटान फुड्सिल, बडिकेदार, केआइसिंह, जोरायल गाउँपालिकाका तथा दिपायल सिलगढी नगरपालिकाका नागरिक प्रत्यक्षरुपमा लाभान्वित भएका छन् भने अब यहाँका किसानले उत्पादन गरेका वस्तुले बजार पाउने भएका छन् । सडक सञ्जाल जोडिएपछि उत्पादित वस्तुले बजार पाउने र किसानको आयस्तर वृद्धि हुने जनाउँदै किसान बढी खुसी भएको स्थानीयवासी टक्करबहादुर कलेलले बताए । जिल्लाको बोगटान क्षेत्र अदुवा, अमिलो, बेसार (हल्दी) तथा सुन्तला उत्पादनका लागि प्रख्यात ठाउँका रूपमा चिनिँदै आएको छ ।
यो सडक डोटीको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा पुरानो र ठूलो सडक हो । विसं २०१५ पछि धनगढीबाट दिपायलका लागि यो सडक काम सुरु गरिएको थियो । ‘धनगढी–दिपायल (डिडी) सडक’ को नामले निर्माण सुरु भएको सडक विगतमा पहुँचका आधारमा ‘धनगढी–डडेल्धुरा–दिपायल (डिडीडी)’ नामकरण गरेर निर्माण गरिएको नेपाली कांग्रेस नेता दीपक कुमार विष्टले जानकारी दिए । विसं २०४३ मा कैलालीका पहाडी क्षेत्रका सहजपुर र निङालीसहित डोटीका साविकका दश गाविस जोडेर दिपायल पुग्ने गरी यो सडकको निर्माण सुरु भएको थियो । तत्कालीन जिल्ला विकास समिति डोटीका सभापति हाल प्रदेश सभासदस्य भरतबहादुर खड्काले उक्त सडकको शिलान्यास गरेका थिए ।
यस्तो छ बोगटान सडकको राजनैतिक कथा?
२०१५ सालपछि धनगढीबाट दिपायलका लागि सडक काट्ने काम सुरु भएको थियो । ‘धनगढी–दिपायल (डिडी) सडक’को नामले काटिन सुरु भएको सडक पञ्चायत कालमा तत्कालीन डडेलधुराका नेताहरूको पहुँचका आधारमा ‘धनगढी–डडेलधुरा–दिपायल(डिडीडी)’ नामाकरण गरेर काटिएको थियो । जसले सो सडकले बोगटान क्षेत्र जोड्न सकेन् । २०४३ सालमा कैलालीका पहाडी क्षेत्रका सहजपुर र निङालीसहित डोटीका साबिकका १० गाविस जोडेर दिपायल पुग्ने गरी यो सडकको निर्माण कार्य सुरु भयो । तत्कालीन जिल्ला विकास समिति डोटीका सभापति भरत बहादुर खड्काले सडकको शिलान्यास गरेका थिए।
२०४८ सालमा आमनिर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका सिद्ध राज ओझाले यही सडकलाई प्रमुख एजेण्डा बनाए । स्वर्गीय ओझा भूमिसुधार सहायक मन्त्री बने तर सडक बनेन् । सिद्धराज ओझाले २०४८, २०५१ र २०५६ सालसम्म निर्वाचन जिते । त्यस क्रममा उनी पटक–पटक मन्त्री पनि भए । उता सडक निर्माणको गति भने निकै सुस्त रह्यो ।
२०६४ साल तत्कालीन नेकपा माओवादीका तर्फबाट संविधान सभा सदस्यमा विजयी उम्मेदवार खेम बमले न संविधान लेख्न मै सफल भए न बोगटान सडक निर्माण कार्यमा नै । २०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा ५० लाख पावर बजेट हालेपनी हात्तीको मुखमा जिरा जस्तै भयो ।
२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा यो सडक फेरी डोटी क्षेत्र नम्बर–२ का उम्मेदबारहरुको साझा र प्रमुख एजेण्डा बन्यो । नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर आलेमगरले यही एजेन्डा उठाएर कार्यकाल भरी जसरी पनि सडक बनाउने कसम खाए । सजपुर–अत्तरकाँडासम्म कालोपत्रेको काम सुरु त भयो तर सडक अझै जोडिन सकेन ।
२०७४ सालको प्रदेश सघंको निर्वाचनमा पनि यो एजेन्डा छुटने कुरै भएन । सबै उम्मेदवारको साझा र प्रमुख एजेन्डा बन्यो । तत्कालीन बाम गठबन्धनका उम्मेदवारहरूले यो एजेन्डा लिएरै बिजयी मध्य प्रदेश सभा ‘ख’का विजयी उम्मेदवार त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भए र उक्त सडक प्रदेश गौरवको योजनामा समावेश भएको थियो।